राजनीति

सरकारमा थपिए देउवाका १९ सारथि

बालकृष्ण अधिकारी/प्रकाश तिमल्सिना

काठमाडौं- शेरबहादुर देउवाले प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनमा दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। देउवाले बुधबार दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रिपरिषद्लाई २७ सदस्यीय बनाएका हुन्।

संवैधानिक व्यवस्थाअनुसार माघ ७ भित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्नुपर्ने जिम्मेवारीसहित सरकारको नेतृत्व सम्हालेका देउवाले बुधबार  १९ नयाँ सारथि थपेका छन्। आफ्नै पार्टी कांग्रेस, नेकपा माओवादी केन्द्र, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र नेकपा संयुक्तसहित देउवा नेतृत्व सरकारमा अब तीन उपप्रधानसहित २६ मन्त्री भएका छन्।

माघ ७ भित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्नुपर्ने जिम्मेवारीसहित सरकारको नेतृत्व सम्हालेका देउवाले बुधबार  १९ नयाँ सारथि थपेपछि मन्त्रिपरिषद् २७ सदस्यीय बनेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दललाई सरकारमा सहभागी गराउन चार मन्त्रालय राखेका प्रधानमन्त्रीले आफूले शपथ लिएकै दिन तीन  उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए।  आफ्ना विश्वासपात्र गोपालमान श्रेष्ठ, प्रमुख सत्ता साझेदार माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई उनले उपप्रधानमन्त्रीको जिम्मेवारी दिएका थिए।

विस्तारित मन्त्रिपरिषद्मा कांग्रेसका १३, माओवादी केन्द्रका ९, फोरम लोकतान्त्रिक ३, नेकपा संयुक्त १ नेता सहभागी छन्। बुधबार थपिएका १९ मन्त्रीमा कांग्रेसबाट १०, माओवादीबाट ६, फोरम लोकतान्त्रिकबाट २ र नेकपा संयुक्तबाट १ जना छन्।

कांग्रेसबाट रामकृष्ण यादव (कृषि विकास), महेन्द्र यादव (खानोपानी), वीरबहादुर बलायर (भौतिक पूर्वाधार), मीन विक (वाणिज्य), अम्बिका बस्नेत (सहकारी), मोहनबहादुर बस्नेत (सञ्चार), यज्ञबहादुर थापा (कानुन), सञ्जय गौतम (सिँचाइ), भीमसेनदास प्रधान (रक्षा) र राजेन्द्रकुमार केसी (खेलकुद) थपिएका छन्। यसअघि कांग्रेसबाट श्रेष्ठ उपप्रधानमन्त्रीसहित शिक्षा, ज्ञानेन्द्रबहादुर कार्की अर्थ र फरमुल्लाह मन्सुरले श्रम मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्।

अन्तिम समयमा अर्जुन जोशीलाई पछि पार्दै महेन्द्र यादव मन्त्री बनेका छन्। नेता रामचन्द्र पौडेल पक्षको नेतृत्व गर्दै सरकारमा सहभागी हुने चर्चामा रहेका बलबहादुर केसी पाखा परे भने समानुपातिक तर्फका सांसद्लाई मन्त्री नबनाउने पौडेल पक्षले नीति बनाएपछि मन्त्रीको दौडमा रहेका कमला पन्त, बद्री पाण्डे, सरिता प्रसाईसहितका नेताहरु बाहिर परेका छन्।

पौडेल पक्षबाट सरकारमा सहभागी रामकृष्ण, गौतम , थाप र केसीका साथै कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का समूहका प्रधान र बस्नेत  प्रत्यक्ष निर्वाचित हुन्। कांग्रेस सभापति देउवा पक्षबाट सरकारमा सहभागी सातमध्ये बलायर र मन्सुरबाहेक सबै समानुपातिकतर्फबाट संसद्मा प्रतिनिधित्व गर्छन्।

त्यस्तै, माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल (स्वास्थ्य), महेन्द्रबहादुर शाही (ऊर्जा), टेकबहादुर बस्नेत (सामान्य प्रशासन), शिवकुमार मण्डल (आपूर्ति), शन्तबहादुर चौधरी (पशुपंछी) र  आशा कोइराला (महिला, बालवालिका) छन्। यसअघि नै माओवादीबाट महरा उपप्रधान  तथा परराष्ट्र, जनार्दन शर्मा गृह र प्रभु शाहले सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारमै सरकारमा सहभागी हुने चर्चामा रहेका भरतबहादुर साह यसपटक पनि परेनन्।

फोरम लोकतान्त्रिकबाट जितेन्द्र देवले (संस्कृति, पर्यटन) र गोपाल दहितले (भूमिसुधार) को जिम्मेवारी पाएका छन् भने गच्छदारले उपप्रधानमन्त्रीसहित स्थानीय विकासको मन्त्रालय जिम्मेवारी पहिला नै पाएका थिए। नेकपा संयुक्तबाट मिथिला चौधरीले (जनसंख्या तथा वातावरण) मन्त्रालय पाएकी छिन्।

विस्तारित मन्त्रिपरिषद्मा सबैभन्दा कम प्रदेश नम्बर ७ बाट एक मन्त्री  छन् भने सबैभन्दा धेरै प्रदेश नम्बर २ बाट सातजना छन्। त्यस्तै, प्रदेश नम्बर १, ३ र ६ बाट चार/चारजना र प्रदेश ४ र ५ बाट तीन/तीन जना मन्त्री बनेका छन्।

कांग्रेसले प्रदेश १ बाट दुई, प्रदेश २ बाट तीन, प्रदेश ३ बाट चार, प्रदेश ४ बाट दुई प्रदेश ५ र ७ बाट एक/एक नेतालाई सरकारमा सहभागी गराए पनि प्रदेश ६ को प्रतिनिधित्व छैन। माओवादीले प्रदेश ६ लाई सबैभन्दा धेरै महŒव दिँदै चार नेतालाई सरकारमा सहभागी गराएको छ भने ३ र ७ प्रदेशबाट उसको प्रतिनिधित्व छैन। उसले प्रदेश १, ४ र ५ बाट एक/एक, प्रदेश २ बाट दुई नेतालाई मन्त्री बनाएको  छ।

त्यस्तै, फोरम लोकतान्त्रिकबाट १, २ र ५ नम्बर प्रदेशका नेता सरकारमा सहभागी छन्। नेकपा संयुक्तले प्रदेश नम्बर ४ बाट सरकारमा प्रतिनिधित्व गराएको छ। 

काठमाडौंबाट तीन

काठमाडौंबाट मात्र कांग्रेसले तीन नेतालाई मन्त्री बनाएको छ। अम्बिका बस्नेत, भीमसेनदास प्रधान र राजेन्द्रकुमार केसी काठमाडौंका हुन्। गुटगत सन्तुलन मिलाउँदै देउवाबाट बस्नेत, पौडेलबाट केसी र सिटौला पक्षबाट प्रधान सरकारमा सहभागी भएका हुन।

त्यस्तै, धनुषाबाट कांग्रेसकै रामकृष्ण यादव र महेन्द्र यादव दुई नेता सरकारमा सहभागी भए। बर्दियाबाट कांग्रेस र माओवादीका एक/एक नेता मन्त्री भए। 

को कस्ता?

कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेका रामकृष्ण यादव धनुषा कांग्रेसको सभापति, लेखा समिति सभापति हुँदै हाल पार्टी केन्द्रीय सदस्य छन्। मीन विक पार्टीको भ्रातृ संगठन नेपाल दलित संघको अध्यक्षका साथै पार्टी केन्द्रीय सदस्य छन्। प्रदेश नम्बर सातका एक्ला मन्त्री बीरबहादुर बलायर डोटी जिल्ला सभापति हुँदै केन्द्रीय राजनीतिमा सक्रिय छन्। १३औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित बलायर डोटी–१ बाट निर्वाचित सांसद हुन्।

त्यस्तै, धनुषा गृह जिल्ला भएका महेन्द्र यादव नेपाल तरुण दल हुँदै पार्टी राजनीतिमा आएका हुन्। उनी अहिले पार्टी केन्द्रीय छन्। कांग्रेसबाट   मन्त्री बन्ने अवसर पाएकी अम्बिका बस्नेता नेपाल महिला संघ हुँदै पार्टी राजनीतिमा छिन्। पार्टी विभाजन हुँदा मूल कांग्रेसमा रहेकी बस्नेत पछि देउवातिर लागेकी हुन।

नेता खुमबहादुर खड्कासँग सुमधुर सम्बन्ध भएका मोहनबहादुर बस्नेतले झन्डै २५ वर्ष सिन्धुपाल्चोक कांग्रेसको नेतृत्व सम्हालेका थिए। पार्टीको १३औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित उनी यसअघि पनि सरकारमा थिए। 

२०३७ सालबाट पार्टी राजनीतिमा सक्रिय सञ्जय गौतम कांग्रेस बर्दिया सभापति हुन्। बर्दिया–२ बाट निर्वाचित गौतम राजनीति शास्त्र र अर्थशास्त्रमा स्नातक हुन। कास्की कांग्रेसका पूर्वसभापति यज्ञबहादुर थापा बिपी कोइरालादेखि कोइराला परिवारसँग राम्रो सम्बन्ध भएका नेता हुन्। उनी नेपाल विद्यार्थी संघ हुँदै राष्ट्रिय राजनीतिमा आएका हुन्।

राजेन्द्रकुमार केसी दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई काठमाडौं–१० बाट पराजित गरेपछि चर्चामा आएका नेता हुन्। नेपाल प्राध्यापक संघका पूर्वअध्यक्ष भीमसेनदास प्रधान काठमाडौं कांग्रेसका पूर्वसभापति हुन्। नेता सिटौलासँग निकट प्रधान काठमाडौं–६ बाट निर्वाचित सांसद् हुन्।

देउवाको नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाएका माओवादी नेता गिरिराजमणि पोखरेल यसअघि तीनपटक मन्त्री भइसकेका छन्। ०६२/६३ को जनआन्दोलनलगत्तै तत्कालीन प्रधामन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारमा उनी पहिलोपटक स्वास्थ्य मन्त्री भएका थिए। ०६५ सालमा पुनः पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री नै भएका पोखरेल केपी ओली सरकारको नेतृत्वमा भने शिक्षामन्त्री भएका थिए।

महोत्तरी–६ वाट प्रत्यक्षतर्फ विजयी पोखरेल अविवाहित हुन्। तत्कालीन जनमोर्चा नेपालमा रहेका उनी पार्टी एकीकरणसँगै माओवादीमा छन्। पोखरेल माओवादीभित्र नारायणकाजी श्रेष्ठ निकट मानिन्छन्।

टेकबहादुर बस्नेत प्रत्यक्षतर्फ २–२ पटक विजयी हुने सल्यानी नेता हुन्। माओवादीका डिभिजन कमाण्डरकोसमेत जिम्मेवारी लिएका महेन्द्रबहादुर शाही कालिकोटबाट विजयी हुन्। शन्तबहादुर चौधरीले पशुपन्छी मन्त्रालयको जिम्मेवारी पाएका छन्। उनी वर्दिया–३ बाट निर्वाचित हुन्। आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका शिवकुमार मण्डल मोरङ– ३ बाट निर्वाचित हुन्।  आशा कोइराला देउवा सरकारमा माओवादीबाट समावेश हुने एक मात्र महिला मन्त्री हुन्। गोरखाकी कोइराला पहिलोपटक सांसद भएकी हुन्।

त्यस्तै, नेकपा संयुक्तबाट जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएकी मिथिला चौधरी २०४१ देखि  राजनीतिमा सक्रिय छिन्।

फोरम लोकतान्त्रिबाट सरकारमा सहभागी जितेन्द्रनारायण देव वामपन्थी राजनीतिबाट मधेसी राजनीतिमा पुगेका नेता हुन्। लामो समयदेखि राजनीतिमा सक्रिय देव नेकपा संयुक्त, नेकपा एमाले हुँदै मधेस आन्दोलनपछि फोरमसँग आबद्ध छन्। राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा सहायक मन्त्री बनेपछि राष्ट्रिय राजनीतिमा चर्चामा आएका गोपाल दहित थारु र मुक्त कमैयाको क्षेत्रमा काम गर्दै आएका नेता हुन्।

प्रकाशित: १२ श्रावण २०७४ ०२:१२ बिहीबार

सरकारमा थपिए देउवाका १९ सारथि