राजनीति

प्रधानमन्त्री दाहालले सम्पादकहरूसँग भने, ‘भ्रष्टाचार विरुद्धको अभियान बिथोल्ने प्रयास भइरहेको छ’

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको ‘भ्रष्टाचार विरुद्धको अभियान’ बिथोल्ने प्रयास भइरहेको बताएका छन्।  

उनले मङ्गलवार सम्पादकहरूसँगको भेटघाटमा भ्रष्टाचार विरुद्धको अभियान हुन नदिने र कुनै न कुनै हिसाबले रोक्ने प्रयास भइरहेको बताएका हुन्।

‘हामीले भ्रष्टाचारको विरुद्धमा काम गरिरहेका छौँ । तर यो काम हुन नदिने र कुनै कुनै हिसाबले रोक्न खोजिएको छ’, प्रधानमन्त्री दाहालले मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पादकहरूसँग भएको छलफलमा भने।  

उनले हिजो जसले पटक–पटक संसद् विघटन गरेको थियो त्यसैको निरन्तरता स्वरूप अहिले संसद् अवरुद्ध गर्ने काम भइरहेको समेत उल्लेख गरेका छन्। ‘हिजो जसरी पटक पटक संसद् विघटन गरिएको थियो। अहिलेको संसद् अवरुद्धलाई पनि हामीले त्यसैको निरन्तरता हुनसक्ने रूपमा बुझेका छौँ’, प्रधानमन्त्री दाहालले सम्पादकहरूसँग भने।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विगत २० दिनदेखि सुन प्रकरण छानबिनका लागि ‘उच्च स्तरीय छानबिन समिति’ गठनको माग राख्दै संसद् अवरुद्ध गर्दै आएको हो।

यसैगरी प्रधानमन्त्री दाहालले आम नागरिक तथा उपभोक्ताहरूका गोप्य सूचना कुनैपनि हालतमा दुरुपयोग हुन नदिने प्रतिवद्घता पनि जनाएका छन्। ‘जुनसुकै प्रविधि आएको भएपनि हामीले नागरिकका गोप्य सूचना दुरुपयोग हुन दिने छैनौँ’, उनले भने।

प्रकाशित: ३० श्रावण २०८० ११:४१ मंगलबार

पुष्पकमल दाहाल