राजनीति

साझा र विवेकशील पार्टी एकीकरण घोषणा बुधबार हुने

काठमाडौं – वैकल्पिक शक्तिको रुपमा उदाएका दुई पार्टीहरु साझा र विवेकशील नेपाली दलबीच एकीकरण हुने निश्चित भएको छ। दुवै पार्टीले संयुक्त रुपमा कार्यक्रम गरी पार्टी एकीकरणको तयारी गरेका छन्।

विवेकशील नेपाल दल र साझा पार्टीले संयुक्त रुपमा प्रेस विज्ञप्तिमार्फत पार्टी एकिकरणबारे जानकारी गराएका छन्। आगामी बुधबार एक कार्यक्रम गरी एकीकृत हुने विज्ञप्तिमा उल्लेख छ। ‘बुधबार औपचारिक कार्यक्रमको आयोजना गरेर पार्टी एकीकरणको घोषण हुँदैछ,’ साझा प्रवक्ता डा.सूर्यराज आचार्य र विवेकशील प्रवक्ता रमेश पौड्यालद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा उल्लेख छ।

यसअघि दुवै पार्टीले पार्टी एकताका निम्ति वार्ता समिति गठन गरी छलफल गरेका थिए। ‘वार्ता समितिहरुबीच धेरै राउन्टमा मिटिङ भइसकेपछि एकीकरणका प्राविधिक विषयहरु सल्टिएका छन्’, एक जना वार्ता समिति सदस्यले नागरिकन्युजसँग भने, ‘अब लगभग सबै विषयमा सहमति भइसकेको छ। बुधबार संयुक्त पत्रकार सम्मेलन गरी पार्टी एकीकरणको घोषणा गर्नेछौं।’

पार्टीको नाम के हुने र नेतृत्व कसले गर्ने भन्ने विषयमा दुई पार्टीबीच लामो छलफल चलेको थियो। यसको आधिकारिक घोषणा बुधबार नै गर्ने तयारी गरिएको छ।

प्रकाशित: १० श्रावण २०७४ ०९:२२ मंगलबार

साझा विवेकशील पार्टी एकीकरण घोषणा बुधबार हुने