राजनीति

राप्रपा नेताद्वारा कार्यालय बनाउन दिएको पैसा फिर्ता माग

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य दिलविकास राजभण्डारीले पार्टी कार्यालय बनाउन र चुनाव खर्चका लागि आफूले दिएको समेत गरी चार करोड पाँच लाख रुपैयाँ फिर्ता मागेका छन्।

राप्रपाको शुक्रबार सम्पन्न केन्द्रीय समितिको बैठकमा राजभण्डारीले पार्टी (तत्कालीन राप्रपा, नेपाल) केन्द्रीय कार्यालय निर्माण गर्दा २ करोड ५२ लाख र चुनाव समयमा एक करोड ५३ लाख रुपैयाँ दिएको भन्दै  सो रकम फिर्ता मागेका हुन्।

'पत्नीका नामको जग्गा पार्टीलाई दिने भनेको थिएँ। त्यसमा पार्टीको पैसाबाट घर बनाउने सहमति भएको थियो,' राजभण्डारीले नागरिकसँग भने, 'पार्टी अध्यक्षले अहिले खर्च गर्नुहोस् पछि पैसा दिउँला भन्नु भएकाले त्यतिबेला ऋण लिएर भवन निर्माणमा लगाएँ तर अहिलेसम्म फिर्ता पाएको छैन। फाइनान्समा ब्याज तिरेको तिरै छु।'

उनकी पत्नी शशिकला राजभण्डारीको स्मृतिमा काठमाडौं धुम्बाराहीमा १२ आना जग्गामा ६ हजार ५ सय वर्ग फिटमा फैलिएको राप्रपाको केन्द्रीय कार्यालय बनेको छ।

राजभण्डारीले घर निर्माणका लागि २ करोड ५९ लाख र पार्टी कार्यालयभित्र गरिएको खर्चका लागि २३ लाख रुपैयाँ खर्च भएकोे विज्ञप्तिमा उल्लेख गरेका छन्।  '३० लाख रुपैयाँमात्रै फिर्ता पाएको छुँ,' राजभण्डारीले भने।

दोस्रो संविधानसभा निवार्चनताका राजभण्डारी तत्कालीन राप्रपा नेपालका कोषाध्यक्ष थिए। चुनाव खर्चका लागि राजभण्डारी स्वयंले ८० लाख, पुरुषोत्तम शाहीबाट ५० लाख र कमला शर्माबाट २३ लाख रुपैयाँ गरी १ करोड ५३ लाख रुपैयाँ जुटाएको तर अहिलेसम्म फिर्ता नपाएको बताए। राजभण्डारीले राप्रपा नेपालका तत्कालीन अध्यक्ष कमल थापा, उपाध्यक्ष राजिव पराजुली र आफूबीच भएको सहमतिअनुसार महालक्ष्मी फाइनान्सबाट ऋण लिएको बताए।

'रातदिन नभनी छोरा (अनिल राजभण्डारी) र मैले ५ महिना २३ दिनमा घर निर्माण गरेर पार्टीलाई बुझायौं। तर अहिले अपमान गरिएको छ। म त फसें फसें अरु पनि नफसुन भनेर यो केन्द्रीय समितिका सदस्यलाई लिखित रुपमै आफ्नो कुरा राखेको हुँ,' राजभण्डारीले भने।

२०७० साल वैशाख ११ गते शशिकलाको प्रथम स्मृतिको दिन पारेर भवन उद्घाटन गरिएको थियो। शशिकला निधन हुँदा तत्कालीन राप्रपा नेपालकी केन्द्रीय सदस्य थिइन्।

भवन निर्माणका लागि तत्कालीन राप्रपा नेपालले देश तथा विदेशमा रहेको नेपालीबीच चन्दा अभियान सञ्चालन गरेको थियो। पार्टीका नेताले भने भण्डारीले भवन निर्माणका लागि उठाएको पैसाको हिसाबकिताब राम्रोसँग नराखी गोलमाल गरेको आरोप लगाएका छन्।  सांसद दिनेश श्रेष्ठले राजभण्डारीमाथि भवन निर्माण क्रममा रकम अपचलन गरेको आरोप लगाएका थिए। 'उहाँले भक्तपुरका ठेकेदारलाई भवन बनाउने जिम्मा दिनु भएको थियो। त्यो ठेकेदारलाई पनि पैसा दिनु भएको छैन', श्रेष्ठले नागरिकसँग भने, 'एक करोड १० लाख रुपैयाँमा ठेक्का दिएर १० लाख मात्रै दिनुभएको छ। बाँकी पैसा दिनुभएको छैन।'

दोस्रो संविधानसभा चुनाव सकिएलगत्तै यो विषय उठेको थियो। समानुपातिकतर्फको सांसद छनोट भइसकेपछि सुरु भएको विवादले उग्ररुप लिएपछि राजभण्डारीलाई कोषाध्यक्षबाट निकालिएको थियो। अन्य असन्तुष्टसँगै राप्रपा नेपाल छाडेका उनी पशुपतिशमशेर राणाले नेतृत्व गरेको राप्रपामा पसेका थिए। गत मंसिरमा राप्रपा र राप्रपा नेपालबीच एकीकरण भएको हो।

प्रकाशित: ८ श्रावण २०७४ ०२:२२ आइतबार

राप्रपा नेताद्वारा कार्यालय बनाउन दिएको पैसा माग