काठमाडौं- राजधानीका सडकका खाल्डा पुर्ने जिम्मेवारी पाएका उच्च सरकारी अधिकारीहरू छलफलमै व्यस्त भइरहेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएको समयसीमाभित्र सडकका समस्या समाधान हुन कठिन हुने भएको छ।
शबिारसम्म त्रिपुरेश्वर, थापाथली-माइतीघर, गौशाला–मित्रपार्क, कालिकास्थान–अनामनगर क्षेत्रका सडकमा 'कोल्ड मिक्स' र ग्राभेल गरी खाल्डा पुरिएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सरोकारवाला निकायका सचिवलाई गत आइतबार सडकका खाल्डा पुरेर व्यस्थित बनाउन निर्देशन दिएका थिए। तर प्रधानमन्त्रीले निर्देशन दिएको एक सातासम्म पनि जिम्मेवार अधिकारीहरू छलफलमै व्यस्त रहेकाले तोकिएको समयमा काम पूरा हुन नसक्ने देखिएको छ।
खाल्डा पुर्ने जिम्मा खानेपानी तथा सरसफाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको हो। जीर्ण सडकका समस्या समाधान गर्ने जिम्मेवारी पाएका सचिवहरू कार्यालयकै बैठकमा व्यस्त रहेकाले काममा निस्कन नपाएको बताउँछन्।
स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले खाल्डा पुर्ने कार्यमा सरिक हुन नपाएको बताए। 'कार्यालयमै बसेर निर्णयका काम गरेका छौं,' उनले भने, 'शुक्रबार राति चाबहिल क्षेत्रको सडकको अवस्था अवलोकन गरेका थियौं।' उनले धेरै निकायलाई जिम्मेवारी बाँडफाँट गरेकाले काम गर्न कठिन भइरहेको बताए।
आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का आयोजना निर्देशक तिरेश खत्रीले कार्यालयको कामले गर्दा अनुगमनमा निस्कनै नपाएको बताए। उनले भने, 'सकेसम्म निरीक्षणमा निस्कने गरेको छु, कार्यालयको कामले नभ्याउँदा अन्य निकायका सचिवसँग सहकार्य गरेर काम भएको छ।'
सडकछेउका खाल्डा पुर्नका लागि जनशक्ति र सामग्री अभाव देखिएको प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेले बताए। बर्खाको समय र गिटी, ढुंगा, बालुवाजस्ता सामग्री जुटाउन गाह्रो भएको उनको भनाइ छ।
'निर्माण सामग्री अभावले कामको गति सुस्त भएको हो,' घिमिरेले भने, 'यही विषयमा छलफल गर्न आइतबार उद्योग मन्त्रालय, वातावरण मन्त्रालय र अन्य सरोकारवाला निकायको बैठक बस्दैछ।' खाल्डा पुर्नका लागि एक सय जना कामदार परिचालित छन्।
'काम भएको त छ तर तीव्र रूपमा हुन सकेको छैन,' उनले भने, 'पहिला ठूला धराप पुर्न निर्देशन दिइरहेका छौं।' उनले कुन ठाउँका सडक कसले व्यवस्थित बनाउने भन्ने विषयमा पनि जिम्मेवार निकायबीच समन्वय भइरहेको बताए। '८ मिटरभन्दा कम चौंडाइका सडक पुर्ने काम महानगरपालिका र नगरपालिकाको हो,' घिमिरेले भने, 'त्योभन्दा चौडा सडक पुर्ने काम अरू निकायको हो।' उनले जिम्मा लिएको निकायले धमाधम काम थाल्ने हो भने समयसीमाभित्रै काम सकिने बताए।
शबिारसम्म त्रिपुरेश्वर, थापाथली—माइतीघर, गौशाला–मित्रपार्क, कालिकास्थान–अनामनगर क्षेत्रका सडकमा 'कोल्ड मिक्स' र ग्राभेल गरी खाल्डा पुरिएको छ। यीबाहेक अन्य सडकमा ठूला खाल्डा पुर्ने काम भइरहेको मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका क्षेत्रीय निर्देशक शिवहरि सापकोटाले जानकारी दिए। उनले भने, 'निर्देशन पाएको दिनदेखि हामी सडकमै खटिएका छौं तर, सडकको दूरवस्था हेर्दा सजिलै समाधान गर्न सकिने अवस्था छैन।' उनले चाबहिल–बौद्ध सडकखण्डमा जमेको पानी निकास नभएकाले काम गर्न मुस्किल परेको बताए। सापकोटाका अनुसार खाल्डा परेपछि सडकमा तत्काल ग्राभेल गरिनेछ। कालोपत्रे भने बर्खा सकिनेबित्तिकै गर्ने योजना छ।
खानेपानीको पाइप फुटेर समस्या
सडकका खाल्डा टाल्ने स्थानमा खानेपानीका पाइप फुटेकाले काम गर्न कठिन भएको छ। लैनचौर–लाजिम्पाट सडक खण्डमा पाइप फुटेका कारण काम गर्न कठिन भएको मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका निर्देशक सापकोटाले बताए। उनले भने, 'खानेपानीका पाइप बनाउने काम केयुकेएलको हो। फुटेका पाइप यथावत् रहे उक्त क्षेत्रमा काम गर्न सकिन्न।'
प्रधानमन्त्री देउवाको निर्देशनअनुसार १५ दिनभित्र सडक बीचका खाल्डाखुल्डी पुर्न प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेले खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियालाई जिम्मेवारी तोकेका थिए।
प्रकाशित: ८ श्रावण २०७४ ०२:०६ आइतबार