राजनीति

सरकारमा फर्कंदै जनमत, बिदा हुँदै मन्त्री मोदी

करिब चार महिनापछि जनमत पार्टी सरकारमा फर्कने भएको छ। सरकारमा जान जनमतले अनितादेवी साहको नाम प्रधानमन्त्रीलाई बुझाइसकेको नेताहरूले बताएका छन्। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनमतलाई सरकारमा ल्याउन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने भएका छन्। माओवादी केन्द्रको आइतबार बसेको बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

तत्कालीन खानेपानीमन्त्री अब्दुल खानले आफूले पाएको मन्त्रालयप्रति असन्तुष्टि जनाउँदै २०७९ चैतमा राजीनामा दिएका थिए। मन्त्रिमण्डल पुनर्गठनमा प्रधानमन्त्रीले खानलाई पुनः खानेपानी मन्त्रालयमै राखेपछि जनमत असन्तुष्ट बनेको थियो। त्यतिबेला जनमतले उद्योग या कृषि मन्त्रालय मागेको थियो। प्रधानमन्त्री दाहालले जनमतलाई सुरुमा मागेकै मन्त्रालय दिने आश्वासन दिएका थिए तर राष्ट्रपति कार्यालयमा नाम पठाउँदा पुनः खानेपानीमै राखिएको थियो। त्यसपछि असन्तुष्ट बनेको जनमत सरकारबाट बाहिरिएको थियो।

सरकारबाहिर रहे पनि जनमत पार्टीका अध्यक्ष सिके राउतसँग प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बन्ध बिगारेनन्। उनले राउतसँग बीचबीचमा भेट गरिरहे। जनमतले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएन। यद्यपि वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा प्रधानमन्त्री दाहाल जनमतका उम्मेदवारलाई सहयोग नगरी जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई जिताउन सक्रिय रहे। उपनिर्वाचनपछि पनि प्रधानमन्त्री र जनमतबीचको सम्बन्ध बिग्रिएन। तर अहिले यादव भने प्रधानमन्त्री दाहालसँग चिढिएका छन्। गृह मन्त्रालयले गौर काण्ड ब्युँझाउन सम्झौता गरेपछि यादव प्रधानमन्त्रीसँग असन्तुष्ट भएका हुन्। यही विषयमा जसपाले बिहीबार गरेको पत्रकार सम्मेलनमा जसपाका नेताहरूले सरकार छाड्नेसम्मको चेतावनी दिए।

यता सरकारमा जान जनमतले एक महिनाअघि नै साहको नाम प्रधानमन्त्रीलाई बुझाइसकेको थियो। जनमत स्रोतका अनुसार एक महिनाअघि नै शपथ ग्रहण हुन सक्ने सन्देश प्रधानमन्त्री कार्यालयबाट दिइएको थियो तर प्रधानमन्त्री पत्नी सीता दाहालको निधनका कारण जनमत सरकारमा जाने समय पछि सरेको हो। सरकारमा जाने जनमतको निर्णय पुरानै हो। पोहर प्रतिनिधिसभाको निर्वाचनलगत्तै जनमतले सरकारमा जाने औपचारिक निर्णय गरेको थियो। त्यो निर्णय अहिले पनि कायमै रहेकाले जनमत चार महिनामै फेरि सरकारमा फर्किन लागेको नेताहरूले जनाएका छन्।  

बाहिरिँदै मोदी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी सोमबार बिहान १० बजे पत्रकार सम्मेलन गरेर सरकारबाट बाहिरन लागेका छन्।  

यसअघि संघीय मामिला मन्त्रालयले सोमबार मन्त्री र सचिव कृष्णहरि पुष्करबीच कार्यसम्पादन सम्झौता गर्ने कार्यक्रम तय गरेको थियो। कार्यसम्पादन सम्झौताका बुँदासमेत तयार गरिएका थिए। तर मन्त्री फेरिने भएपछि सोमबार कार्यसम्पादन सम्झौता कार्यक्रम नहुने भएको छ। मोदी मन्त्री भएको करिब ८ महिना पूरा हुँदैछ। २०७९ माघ ३ गते उनी मन्त्रीमा नियुक्त भएका थिए।

यसबीचमा उनले प्रशासन क्षेत्रमा सुधार गर्न केही नयाँ निर्णय गरे। दुर्गमका कर्मचारी सुगम र सुगमका कर्मचारी दुर्गम पठाउने, कर्मचारी सरुवाको सिस्टम बसाउने, निमित्तलाई निमिट्यान्न पार्ने, काज फिर्ता गर्नेलगायत निर्णय गरेका थिए। तर उनले गरेका यस्ता महत्वपूर्ण र दूरगामी प्रभाव पार्ने खालका भएकाले कार्यान्वयन भएनन्। यद्यपि उनले निर्णय कार्यान्वयन गराउन निकै प्रयास गरे। यस अवधिमा मन्त्री मोदी र सचिव पुष्करबीच राम्रो सम्बन्ध कहिल्यै बनेन।

प्रकाशित: २९ श्रावण २०८० ००:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App