राजनीति

अायाेगद्वारा तेश्राे चरणकाे निर्वाचन कार्यक्रम स्वीकृत

काठमाडौँ – निर्वाचन आयोगले तेस्रो चरणको प्रदेश नं २ अन्तर्गतका आठ जिल्लामा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । 

आयोगको बुधबारको बैठकले ती आठ जिल्लाका १२७ स्थानीय तहमा असोज २ गते बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म मतदान गर्ने निर्वाचन कार्यक्रम स्वीकृत गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए। 

मन्त्रिपरिषद्को असार १ गतेको बैठकले प्रदेश नं २ को स्थानीय तहको निर्वाचन असोज २ गते गर्ने निर्णय गरेको थियो । प्रदेश नं २ अन्तर्गत गाउँपालिका÷नगरपालिकाको संख्या १२७ रहेको छ। 

तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि आगामी भदौ २१ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको प्रवक्ता शर्माले बताए। निर्वाचन कार्यक्रमअनुसार भदौ २४ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। 

आयोगले निर्वाचन सञ्चालन गर्ने सम्बन्धमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्तिलगायत आवश्यक तयारीका कार्य भइरहेको जनाएको छ । रासस 

प्रकाशित: ५ श्रावण २०७४ ०९:०९ बिहीबार

अायाेगद्वारा तेश्राे चरणकाे निर्वाचन कार्यक्रम