राजनीति

एमालेद्वारा जिल्ला समन्वय समिति उम्मेद्वार छनौट

खोटाङ – नेकपा एमाले खोटाङले जिल्ला समन्वय समितिमा पठाउने उम्मेद्वार छनौट गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै एमालेले जिल्ला समन्वय समितिमा पठाउने उम्मेद्वार छानेको हो ।

जिल्ला समन्वय समितिका लागि बहुमत प्राप्त गरेको एमालेले पार्टीका अध्यक्ष बबी चामलीङको नेतृत्वमा ९ जनालाई जिल्ला समन्वय समितिमा पठाउने टुंगो लगाएको उप–सचिव कुमार आचार्यले बताए । उप–सचिव आचार्यका अनुसार पार्टी अध्यक्ष रहेका चामलीङलाई जिल्ला समन्वय समितिको प्रमुख र गोमा खत्रीलाई उपप्रमुख बनाउने गरी सिफारिस गरिएको छ । जिल्ला समन्वय समिति गठनकाक्रममा नगरपालिका र गाउँपालिकाको प्रमुख र उपप्रमुखले भोट हाल्न पाउने जिल्लासभामा एमालेसँग १२ मत भएकाले एमाले एक्लैले जिल्ला समन्वय समिति सम्हाल्ने जनाएको छ । 

पाँच पालिकाको प्रमुख र उपप्रमुख तथा दुई गाउँपालिकामा उपप्रमुख जितेको एमालेसँग जिल्ला सभामा १२ मत छ । यस्तै, कांग्रेससँग ७ मत र माओवादी केन्द्रसँग १ मत छ । कांग्रेस र एमाले मिले पनि मतान्तर बढी भएकाले एमालेको एकलौटी जिल्ला समन्वय समिति बन्ने उप–सचिव आचार्यले बताए । ‘२० जनाले भोट हाल्न पाउनेमा १२ मत एमालेसँग छ, अन्य पार्टीसँग ८ मत छ,’ आचार्यले भने, ‘विपक्षी पार्टीले तालमेल गर्दा पनि हाम्रै जित हुने निश्चित छ ।’ 

एमालेले उदयबहादुर कार्की, चर्चबहादुर विश्वकर्मा, रुद्र बिष्ट, रन्जना राई, अडिराम राई, कमलकुमारी राई र भगवती प्रधानलाई जिल्ला समन्वय समितिमा सदस्यकारुपमा पठाउने निर्णय गरेको छ । खोटाङमा साउन १८ गतेदेखि २० गतेभित्र जिल्ला सभा बोलाउने तयारी गरिएको छ । जिल्ला सभा बोलाएको पाँच दिनपछि समन्वय समिति गठनका लागि निर्वाचन तालिका प्रकाशन हुन्छ । निर्वाचन परिणाम प्राप्त भएको ३० दिनभित्र बन्ने समन्वय समितिले जिल्लासभाका तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्यसम्पादन गर्ने संविधानमा उल्लेख छ । निर्वाचन गराउने अधिकार मुख्य निर्वाचन अधिकृतलाई नै तोकिएको छ । 

प्रकाशित: ५ श्रावण २०७४ ०६:५२ बिहीबार