नेकपा (एमाले) का उपाध्यक्ष सुवाषचन्द्र नेम्वाङले कोशी प्रदेशको नाम परिवर्तन गर्नका लागि पार्टीले कुनै शर्तबन्दी नगर्ने बताएका छन्।
बिहीबार २९ औँ विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले च्यासलमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्वाङले कोशी प्रदेशको नाम परिवर्तनमा एमालेको कुनै शर्तबन्दी नहुने बताएका हुन्।
बुधवार प्रधानमन्त्री पुष्ककमल दाहालले आदिवासी जनजातिको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कोशी प्रदेशको नाम परिवर्तन्का लागि २०८४ सालमा निर्वाचन जिताए पहिचानको आधारमा प्रदेशको नामकारण गर्ने उद्घोष गरेका थिए। प्रधानमन्त्रीको सोही अभिव्यक्तिलाई लिएर कोही प्रदेशको नाम परिवर्तनका लागि एमालेले शर्तबन्दी नगर्ने बताएका हुन्।
उनले एमाले देशको विविध जाति, भाषा, धर्म र संस्कृतिका जनताका हीतमा सधैँभरी दृढतापूर्वक उभिने बताए। उनले एमालेको नेतृत्वमा देशमा धर्म निरपेक्षता घोषणा भएको र आइएलओ महासन्धिपनि आफूहरुकै नेतृत्वमा नेपालमा अनुमोदन भएको उल्लेख गरे। उनले आफूहरुकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समावेशितासहितको समाजवादउन्मुख संविधान जारी भएको भन्दै यसबाट पनि एमाले आदिवासी जनताको पक्षमा रहेको स्पष्ट हुने बताए।
राज्यको तर्फबाट फूलपाति र शिवरात्री पर्व मनाएजस्तै अन्य धर्मावलम्वीहरुले मनाउने चाडपर्वहरुलाई पनि राष्ट्रिय चाडपर्वको रुपमा मनाउनुपर्नेमा उनले जोड दिएका छन्। यसको निम्ति एमालेले पहल र नेतृत्व लिनुपर्ने उनको भनाइ छ।
प्रकाशित: २५ श्रावण २०८० ०९:१८ बिहीबार