राजनीति

‘मन्त्रालय फुटाए झन् गलत सन्देश जान्छ’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले भागवण्डा मिलाउन मन्त्रालय बढाउने तयारी गरिरहेका छन्। दुई मन्त्रालय फुटाएर थप दुई मन्त्रालय बढाउने तयारी गरिरहेका मुख्यमन्त्री चौधरीकै दल नेपाली कांग्रेस भने यसको खिलाफमा छ।

अहिले मन्त्रालय बढाईए आम नागरिकमा राम्रो सन्देश नजाने भएकाले मन्त्रालय बढाउन नहुने कांग्रेस लुम्बिनी प्रदेशको निष्कर्ष छ। नेपाल प्रेस युनियनमा आबद्ध पत्रकाहरुसंग घोराहीमा कुराकानी गर्दै लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले आम जनमानसमा गलत सन्देश जाने गरी सरकारले कुनै पनि निर्णय गर्न नहुने बताए।

प्रदेश तहलाई हेर्ने दृष्टिकोण अहिले नकारात्मक रहेको भन्दै सभापति पुनले भने ‘प्रदेशको औचित्य पुष्टि गर्ने हाम्रा सामु चुनौती ठूलो छ, यसको ठिक उल्टो मन्त्रालयको संख्या बढाईए आम जनमानसमा राम्रो सन्देश जाँदैन।’

मन्त्रालय थप गरिए राम्रो सन्देश नजाने भन्दै लुम्बिनी कांग्रेसले केन्द्रीय तहका शीर्ष नेताहरुलाई पनि सुझाव दिइसकेको छ।

‘अहिले मन्त्रालय फुटाएर बढाउने काम भयो भने नागरिकले प्रदेश तहलाई हेर्ने दृष्टिकोण झनै नकारात्मक बन्छ, मन्त्रालय बढाउन हुन्न भनेर मैले केन्द्रीय तहका शीर्ष नेताहरुलाई पनि सुझाव दिएको छु,’ सभापति पुनले भने ‘शीर्ष नेताहरु पनि यसमा सकारात्मक देखिनु भएको छ।’

सभापति पुनले मुख्यमन्त्री चौधरीसँग यस विषयमा कुराकानी नभएको बताए। तत्काल भेट गरेर मुख्यमन्त्री चौधरीसँग यस बारेमा कुराकानी गर्ने भन्दै उनले भने ‘हाम्रो धारणा मन्त्रालय बढाउनु हुन्न भन्ने हो, तर मुख्यमन्त्री अनि सरकारले यस बारेमा गरिरहेको तयारीका बारेमा मलाई जानकारी छैन, तत्काल म मुख्यमन्त्रीसँग भेट गरेर यस विषयमा कुरा गर्छु।’

मुख्यमन्त्री चौधरीले माओवादीसँगको भागवण्डा मिलाउन मन्त्रालय फोड्ने तयारी गरिरहेका छन्। हाल मुख्यमन्त्री सहित ७ मन्त्री मात्रै नियुक्त भएका छन्। बाँकी ३ मन्त्रालय खाली छन्। यी तीन मध्य कांग्रेसले २ र माओवादीलाई एक मन्त्रालय दिने गरी मुख्यमन्त्रीले प्रयास थालेको भएपनि माओवादीले दुई मन्त्रालयमा अडान राखेपछि मन्त्री परिषद्ले अहिले सम्म पूर्णता पाउन सकेको छैन। फलतः कांग्रेसले ३ र माओवादीलाई दुई मन्त्रालय दिने गरी मन्त्रालय फोडेर थप दुई मन्त्रालय थप्ने तयारीमा मुख्यमन्त्री चौधरी छन्।

प्रकाशित: २४ श्रावण २०८० ११:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App