राजनीति

लकरमा गोली राख्ने ल्हारक्याल कोषको उपाध्यक्ष

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री  सुदन किरातीले शान्ति क्षेत्रको नेतृत्व गर्ने लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादित व्यक्ति ल्हारक्याल लामालाई नियुक्त गरेका छन्। लामा यस्ता व्यक्ति हुन्, विगतमा उनको पृष्ठभूमि निकै विवादित छ। नेपाल इन्भेस्टमेन्ट बैंकको केन्द्रीय लकरमा १४ थान गोली राखेको अभियोगमा लामा २०७२ फागुन ३० गते पक्राउ परेका थिए। त्यसको ९ दिनमा ६६ हजार धरौटी राखेर उनी रिहा भए। यसैगरी वैदेशिक रोजगारमा ठगी गरेको आरोपमा पक्राउ परे। त्यतिबेला ३० लाख धरौटी बुझाएर दुई दिनमै रिहा भए। २०७३ मा उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गर्यो।  

सो मुद्दामा उनी १ करोड रूपैयाँ धरौटी राखेर रिहा भएका थिए। अख्तियारबाट अकुत सम्पत्ति आर्जन गरेको आरोपमा छानबिन गर्ने क्रममा नेपाल इन्भेस्टमेन्ट बैंकको लकर खोलिएको थियो। त्यतिबेला लकरमा बहुमूल्य धातु नभई १४ राउन्ड गोली फेला परेको थियो। आफ्नो फाइदाका लागि लामा प्रायः सबै दलमा पुगिसकेका छन्। पछिल्लो समय उनी नेकपा माओवादी केन्द्रमा आबद्ध छन्। २०५८ सालमा उनी नेपाली कांग्रेसको तर्फबाट गुम्बा व्यवस्थापन समिति अध्यक्षमा नियुक्त भएका थिए। त्यसपछि उनी एमालेमा प्रवेश गरे। २०६४ सालमा एमालेले उनलाई समानुपातिक सांसद बनायो भने २०६७ चैतमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल नेतृत्व सरकारमा लामा राज्यमन्त्री भए।  

लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्न लागेको चर्चा आएपछि साउन पहिलो साता लुम्बनी प्रदेश मुख्यमन्त्री डिल्ली चौधरीको नेतृत्वको एउटा टोली काठमाडौं आयो।  

लामालाई लुम्बिनी विकास कोषमा नियुक्त गर्न उपप्रधानमन्त्री पूर्णबहादुर खड्कालगायत विभिन्न मन्त्रीसँग आग्रह गरेको थियो। तर त्यतिखेर त्यो आग्रह काम लागेन। अन्ततः उनी नियुक्त भए। स्रोत भन्छ, ‘ल्हारक्याललाई लुम्बिनी विकास कोषमा नियुक्त गरिएकोमा वर्तमान सरकारकै अन्य मन्त्रीहरू खुसी छैनन्।

प्रकाशित: २३ श्रावण २०८० ०१:४४ मंगलबार

लुम्बिनी विकास कोष ल्हारक्याल लामा लकरमा गोली राख्ने ल्हारक्याल