राजनीति

एमालेले अवरोध गरेपछि राष्ट्रियसभा बैठक आज पनि स्थगित

फाइल तस्बिर

प्रमुख प्रतिपक्ष दल एमालेले अवरोध गरेपछि आज बोलाइएको राष्ट्रियसभा बैठक पनि स्थगित भएको छ। 

एमालेका सांसदहरूले उठेर अवरोध गरेपछि आज बसेको राष्ट्रियसभा बैठक आगामी साउन २४ गते बुधवार सम्मका लागि स्थगित गरिएको छ।बैठकको सुरुमै बोल्दै एमालेकी सांसद दिलकुमारी रावल थापा (पार्वती)ले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठन नगरेसम्म आफ्नो पार्टीले सदन चल्न नदिने अडान राखिन। 

सरकार र सत्तारुढ दलमा आवद्ध नेताहरु आफैं सो प्रकरणमा मुछिएकाले सो प्रकरणको छानबिन गर्न सरकारी निकायहरू समक्ष नहुने भएकाले आफ्नो पार्टीले निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिति नै बनाउन माग गर्नु परेको उनले स्पष्टीकरण दिइन।

सांसद थापाले सत्तारुढ दलहरूकै सरकार भएको बेला सुन तस्करीमा संलग्न दावाछिरिङ शेर्पालाई नेपाली नागरिकता दिने, सुन तस्कर छुटाउनका लागि टेलिफोनमार्फत दबाब दिने माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई कारबाहीको दायरामा ल्याउने काम सरकारले गर्न नसक्ने भएकाले पनि उच्चस्तरीय छानबिन बनाएर अघि बढ्नुको विकल्प नरहेको जिकिर गरिन । 

सांसद थापाले राष्ट्र, राष्ट्रिय सुरक्षा र मुलुकको छविसँग जोडिएको सो सुन तस्करी प्रकरणको छानबिन निष्पक्ष हुनुपर्ने कुरालाई सुनिश्चित गर्न सरकार उच्चस्तरीय छानबिन समिति बनाउन सहमत हुनुपर्ने तर्क समेत गरिन। 

प्रकाशित: २२ श्रावण २०८० ०८:२५ सोमबार

राष्ट्रियसभा बैठक एमाले उच्चस्तरीय समिति गठन