राजनीति

प्यूठान नगरपालिकामा माओवादी विजयी

प्यूठान- प्यूठान नगरपालिमाका जारी मतगणनामा माओवादी केन्द्रले जितेको छ। नगरपालिकामा मेयर पद जितेर माओवादी केन्द्रले जिल्लामा खाता खोलेको हो। माओवादीले राजमोसँगको तालमेलमा जिल्लाको केन्द्र मानिने प्यूठान नगरपालिमा जित हात पारेको हो।

माओवादी केन्द्रका मेयर पदका उम्मेदवार अर्जुनकुमार कक्षपतिले ५ हजार ३ सय १४ मत लिएर नगरपालिकाको मेयर बन्न सफल भएका हुन्। कक्षपतिले एमालेका उम्मेदवार तुल्सीराम शर्मालाई ९ सय ९१ मत अन्तरले पराजित गरेका छन्।

जिल्लाका ९ स्थानीय तह मध्ये माओवादीले प्यूठान नगरपालिका मात्र मेयर पद जितेर खाता खोलेको हो। उपमेरमा भने नेकपा एमालेबाट उम्मेदवार रहेकी शान्ता आचार्यले ५ हजार ९७ मत लिएर विजयी भएकी छन्।

आचार्यले नेपाली कांग्रेसका उम्मेदवार भगवती विष्टलाई १ हजार ६ सय ८३ फराकिलो मत अन्तरले पराजित गरेकी हुन्। माओवादी केन्द्र र राजमोको तालमेल भएपनि राजमोका उम्मेदवार ध्रुव थापाको मत विष्टको भन्दा कम थियो।

नगरपालिकामा १० वटा वडा मध्ये २, ३, ४, ५, ९, पुरै प्यानल एमालले वडा अध्यक्षमा बिजयी भएको हो। यस्तै वडा नम्वार ८ मा पनि अध्यक्ष बाहेक चार सदस्य एमालेले जितेको छ। नेपाली कांग्रेसले १ र ७ नम्बर वडामा प्यानल सहित जित हात पारेको हो । माओवादीले ८, राजमोले १० वडामा मात्र जित हात पारेका छन् ।

नगरपालिकाको ६ नम्वर वडामा नेपाली कांग्रेस र माओवादी केन्द्रको वडा अध्यक्षको मत बराबर आएपछि गोला प्रथाबाट टुंगो लगाउने तयारी भइरहेको नगरपालिका निर्वाचन अधिकृत नाराणप्रसाद भण्डारीले जानकारी दिए।

प्यूठान नगरपालिकाको मत गरणना सम्पन्न सँगै प्यूठानका सबै स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। प्यूठानमा एमाले ३,  नेपाली कांग्रेस ३ राजमोले २ र माओवादी केन्द्रले १ स्थान मात्र बिजयी भएका छन्। वडा स्तरमा भने एमाले पहिलो कांग्रेस दोस्रो र राजमो तेस्रो तथा माओवादी चौथो स्थानमा छ। जसअनुसार एमालेका २५ कांग्रेस १६ माअवादी १० राजमोले १२ वटा वडामा बिजय प्राप्त गरेको छ।

प्रकाशित: २० असार २०७४ ०६:४८ मंगलबार