राजनीति

बहुमतको घन चक्करमा कोशी प्रदेश

फाइल तस्बिर

कोशी प्रदेश पुनः बहुमतको घनचक्करमा फसेको छ। कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाको नियुक्ती सर्वोच्च अदालतले खारेज गरेपछि शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङले साउन १६ गते सम्मको समय दिएर संविधानको धारा १६८ को उपधारा २ अनुसारको सरकार गठनका लागि आह्वान गरेसँगै पुनः कोशी प्रदेश बहुमतको घनचक्करमा फसेको हो।

कोशी प्रदेशमा कुनै पनि दलको स्पष्ट बहुमत छैन। प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू दुई वटा गठबन्धनमा विभाजित भएका छन्। यी दुबै गठबन्धनको बहुमत पुग्दैन। यहि कारण नेपाली कांग्रेसका संसदीय दलका नेता उद्वव थापा सभामुख बाबुराम गौतम समेतको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्रीमा असार २१ गते नियुक्त भएका थिए।  

सभामुखको समर्थनमा बहुमत पुर्‍याएर नियुक्त भएका कारण मुख्यमन्त्रीको नियुक्ती असंवैधानिक भएको भन्दै निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असार २२ गते सर्वोच्च अदालतमा मुख्यमन्त्री उद्वव थापाको नियुक्ती बदर गरी आफूलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्न रिट निवेदन दर्ता गरेका थिए। सर्वोच्चको साउन ११ गतेको  आदेशले मुख्यमन्त्री उद्वव थापाको नियुक्ती बदर गरेको छ।

सर्वोच्चले ७ दिन भित्र संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलको सरकार गठन गर्न भनेको छ। सर्वोच्चको आदेश अनुसार प्रदेश प्रमुख पर्शुराम खापुङले सरकार गठनको आह्वान गरेका छन्। तर, फेरी पुरानै कथा कोशी प्रदेशमा दाहोरिएको छ। कोशी प्रदेशमा सभामुखलाई गणना नगर्दा कांग्रेससँगको चार दलिय गठबन्धन र  एमालेको गठबन्धन दुबै पक्षमा बराबर सदस्यहरू छन्।

नेपाली कांग्रेसको गठबन्धनमा कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १२, नेकपा एकिकृत समाजवादीका ४ र जसपाको १ गरी ४६ सांसद छन्। यस्तै एमाले गठबन्धनमा नेकपा एमालेका ४० र राप्रपाका ६ गरी ४६ जना सांसद छन्। दुबै गठबन्धनमा बराबर सांसद भएका कारण पुनः बहुमतको सरकार गठनहुने अवस्था देखिएको छैन। यद्यपी नेपाली कांग्रेसको गठबन्धन र एमालेको गठबन्धन दुबैले आफ्नो पक्षमा बहुमत पुर्‍याउने प्रयास गर्ने नेताहरूले बताएका छन्।

नेपाली कांग्रेसको गठबन्धनले राप्रपालाई सहमत गराएर बहुमत पुर्‍याउने बताउँदै आएको छ। नेकपा एमाले पनि बहुमत पुर्‍याउने प्रयास गर्ने र बहुमत पुगेको अवस्थामा सरकारको दाबी गर्ने बताउँदै आएको छ। तर, बहुमतका लागि भन्दा पनि संविधानको धारा १६८(३) अनुसार संसदको सबैभन्दा ठूलो दलको हैसियतले सरकारमा जाने एमालेको चाहना देखिएको छ।

आफ्नो पक्षमा बहुमत पुगे सरकारमा दाबी गर्ने नभए १६८ को धारा ३ अनुसार सरकार गठनका लागि कुर्ने एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी बताउँछन्। उनले भने, ‘बहुमत पुगे सरकारको दाबी गर्ने नभए १६८ को उपधारा ३ अनुसार सरकारको नेतृत्व गर्न कुर्छौं।’ यता राप्रपाका नेताहरू भने अहिलेकै अवस्थामा कांग्रेस नेतृत्वको गठबन्धनलाई साथ दिने मनस्थितिमा नरहेको बताउँदै आएका छन्। यहिकारण कोशी प्रदेशमा  सरकार गठनको दौड सुरू भए दुई ध्रुवमा दलहरू विभाजित भइरहे दौडमा कोहि पनि विजयी हुने अवस्था देखिएको छैन।  

प्रकाशित: १२ श्रावण २०८० १४:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App