राजनीति

इज्जत धान्न ठूला नेताको झापा दौड

दुर्गा दुलाल/राजु अधिकारी

झापा- 'झापा एमालेको उद्गम जिल्ला हो, अब पनि त्यो लालकिल्ला कायमै हुन्छ, कोही लेख्न सिक्दै गरेकाले लेखेर एमालेको किल्ला तोडिँदैन, जनताको मनमा सूर्यको छाप बसिसकेको छ, अब मेटिँदैन,' बुधबार काँकडभिट्टाको चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले उद्घोष गरे। त्यसको एक दिनपछि नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले मेचीनगरको संकल्पपत्र सार्वजनिक गर्दै लेखपढ गर्नेकै जमाना भएको उत्तर ओलीलाई फर्काए। उनले झापा पनि पढेका र शिक्षित मानिसको क्षेत्र भएकाले यहाँ मतदाताले उखानटुक्का नभई अजेन्डामा भोट हाल्ने जवाफ दिए। उनले 'तपाईंको सपनाः कांग्रेसको संकल्प भ्रष्टाचारमुक्त र सदाचारयुक्त समुन्नत मेचीनगर' लेखिएको संकल्पपत्र जारी गरे। 

 यी दुई नेताको भाषण झापाको टन्टलापुर घामसंगै चुनावी गर्मीलाई तताएको सहजै महसुस गर्न सकिन्छ। उनीहरू केही दिनदेखि यहाँ अड्डा जमाएर बसी यस्तै खालका भाषण गरिरहेका छन्। '१३ गतेसम्म जिल्लाका सबैका घरदैलामा पुगेर पार्टीको नीति र स्थानीय नेताको बारेमा बुझाउने कार्यसूची छ,’ धुलाबारीमा भेटिएका शर्माले भने, 'झापामा कांग्रेसको लहर देखिएकाले जनतामाझ पार्टीका कुरा राख्न यतै बसेको हुँ।'  उनी मात्र हैन, एमालेका अध्यक्ष ओली पनि यही रूपका चुनावी प्रचारमा व्यस्त छन्।  उनले बुधबार एकै दिन जिल्लाका पाँच स्थानमा चुनावी सभालाई सम्बोधन गरे।

झापा गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गरेपछि उनी सोझै अर्जुनधारा गाविस पुगे। त्यहाँ करिब एक घन्टा बिताएपछि बिर्तामोडको सभालाई करिब ३ घन्टा समय दिएर सोझै सीमावर्ती सहर काँकडभिट्टा पुगेर नेपाली कांग्रेसका युवा नेतालाई धेरै नलेख्न चुनौती दिए। असार ५ गते झापा ओर्लनेबित्तिकै ओली सोझै कन्काई नगरपालिकाको चुनावी सभामा सहभागी भएर निर्वाचन अभियान सुरु गरेका थिए। त्यसपछि आफ्नो चुनावी क्षेत्र दमकमा सहभागी थिए। ओली र शर्मामात्र हैन, दोस्रो चरणको स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा झापामा केन्›ीय नेताको लर्को लाग्न थालेको हो।  आ–आफ्ना दलका उम्मेदवारलाई जिताउन उनीहरू चुनावी प्रचारलाई तीव्रता दिएका छन्।

जिल्लामा आ–आफ्ना निर्वाचन क्षेत्र भएकाले केपी ओली र कृष्ण सिटौलाको सक्रियता देखिएको र प्रतिष्ठा जोगाउने रणनीतिमा उनीहरू व्यस्त रहेको भन्न सकिने कांग्रेसका युवा नेता शर्माको बुझाइ छ। 'आफू लडेको निर्वाचन क्षेत्रमा अन्यले जित्ला भन्ने चिन्ता हुनु स्वाभाविक हो,' शर्माले भने, 'इज्जत कायम रहने र भोलिका निर्वाचनमा आफूलाई सहज  हुने उद्देश्यले पनि यो आवश्यक देखिन्छ।'

२०५४ को निर्वाचनमा एमालेले जिल्ला नै कब्जा गरेको थियो। उसले दुई नगर र ३५ गाविसमा जितेको थियो। कांग्रेसले ६ गाविसमा जित हासिल गरेको थियो। ओलीलाई पुरानो साख जोगाउने हुटहुटी छ भने सिटौला पुरानो पराजय बिर्सिएर जिल्ला कब्जा गर्ने योजनामा छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार एक साताभित्र विभिन्न दलसम्बद्ध १४ जना केन्›ीयस्तरका नेता झापा आएका छन्। नेताको लर्को थेग्न प्रहरीलाई हम्मे परेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पूर्वप्रधानमन्त्री ओलीदेखि माओवादी नेता देव गुरुङसम्म जिल्लामा चुनावी प्रचारका लागि आएका छन्।

 नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौला, पूर्वमन्त्री रामशरण महत र पूर्वमन्त्री गगन थापा एकै दिन असार २ गते झापा ओर्लिएका हुन्। गगन र महत त्यही दिन नेपाली कांग्रेस मेचीनगरको चुनावी सभा, काँकडभिट्टामा सहभागी बने। सिटौला आफ्नै गृहनगर भ›पुरको सभामा अलमलिए। पूर्वसभामुख सुवास नेम्वाङ असार ३ गते झापा हुँदै इलामको चुनावी सभालाई सम्बोधन गर्न हिँडेका थिए। ४ गते पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि चुनावी सभाका लागि झापा हुँदै इलाम उक्लिएका थिए।

प्रकाशित: ९ असार २०७४ ०४:२७ शुक्रबार