राजनीति

मतदान गर्ने दिन गन्दै मतदाता

बालकृष्ण अधिकारी/योगेश रावल

टीकापुर- स्थानीय तह दोस्रो चरण निर्वाचन नजिकिँदै गर्दा मतदातामा निकै उत्साह बढेको छ। उनीहरू आफ्नो अमूल्य मतमार्फत आफ्ना प्रतिनिधि चुन्न आतुर छन्। टीकापुर नगरपालिका–४, मौरानियाका ६९ वर्षीय  फिरु चौधरी टीकापुर–खक्रौला सडक किनारमा बसेर केरा बेच्दै थिए। चुनावबारे राखेको जिज्ञासामा उनी निकै उत्साहित भए। उनले आफू मतदानका लागि तयारी अवस्थामा रहेको प्रतिक्रिया दिए।

'म भोट हाल्न तयार छुँ। चुनाव आउने दिन गन्दै बसेको छुँ', उनले भने, 'मेरो अधिकार प्रयोग गर्ने कुरामा म सचेत छुँ।'

असार किसानका लागि निकै व्यस्त महिना हो। उनीहरूले यतिबेला रोपेको मानो फलेपछि मुरी बन्छ। त्यही मुरीले किसानको वर्षभरको छाक टर्छ। उनीहरू समयमा खेती लगाउन नसके उब्जनी राम्रो हुँदैन भन्ने कुरामा जानकार छन्। तैपनि चुनावका लागि एकदिन खेत रोप्न छोड्न तयार छन्। फिरुले एकदिन घरको काम छोडेर भए पनि चुनावमा भाग लिने बताए।

'एक दिनको कुरा न हो। चुनाव भन्ने कुरा सधै आउँदैन', उनले भने, 'पानी पनि परेको छैन। त्यसैले खेत रोपाइँले चुनावमा बाधा गर्दैन।'

राजनीतिक दलहरू मतदाताका घरदैलोमा जाने क्रम पनि बढेको छ। फिरुका घरमा समेत सबै दलका उम्मेदवार पुगिसकेका छन्। उनीहरू सबैका आआफ्ना अजेण्डा छन्। कसैले विकासका कुरा गर्छन् भने कसैले हकअधिकारका कुरा गरेर मत मागेका छन्। उनीहरू सबैलाई फिरुले मत दिँदैन भनेका छैनन्। उनले व्यक्ति हेरेर मत दिने सोच बनाएको बताए।

'सबै मत माग्न आएका छन। कसैलाई दिँदैन भन्न मिलेन। सबैलाई दिन्छु भनेको छुँ', उनले भने, 'तर मेरो मत व्यक्तिगत सम्बन्धका आधारमा जान्छ।'

टीकापुर नगरपालिका–७ का सन्देश श्रेष्ठले पनि मत हाल्न आतुर रहेको बताए। उनले धेरै वर्षपछि स्थानीय तहको चुनाव हुन लागेकाले पनि आफू मत हाल्न हतारिएको सुनाए। उनी पनि कुनै राजनीतिक दललाई एकलौटी भोट हाल्ने पक्षमा छैनन्। सबै राजनीतिक दलका कुरा सुनेका उनले व्यक्ति हेरेर मत खसाल्ने सोच बनाएको बताए।

'म कुनै पार्टीको भोटर हैन। मैले मन पराएको व्यक्तिलाई भोट हाल्छु', उनले भने, 'राम्रा मान्छेले जितोस् भन्ने पक्षमा छु।'

लामो समयदेखी स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदाका सबै समस्या समाधान हुनेमा मतदाता आशावादी छन्। उनीहरूले आफ्नो हकअधिकार स्थापित हुनुका साथै विकास निर्माणका कामले गति लिने विश्वास गरेका छन। विभिन्न राजनीतिक दलहरूले समेत जनतालाई यस्तै खालका आश्वासन दिँदै भोट मागिरहेका छन्।

मौरानियाकै श्यामलाल चौधरीलाई राजनीतिक दलहरूले सबै आश्वासन पूरा गर्छन भन्ने विश्वास छैन। तर पनि उनी चुनावपछि राजनीतिक अस्थिरता अन्त्य हुनेमा आशावादी छन्। उनले पनि पार्टीभन्दा व्यक्तिलाई रोजेर मत दिने बताए। 'कुनै एउटैमात्रै पार्टीलाई भोट हाल्ने कुरामा म सहमत छैन', उनले भने, 'म मात्रै हैन। सबैले यो कुरा राम्ररी बुझेका छन्।'

टीकापुर नगरपालिका–१ का प्रकाश भण्डारी पेसाले शिक्षक हुन्। उनी आफू मात्रै हैन अरुलाई समेत मतदानमा सहभागी हुन हौस्याइरहेका छन्। उनले आफ्नो टोल छिमेकमा धेरै जनालाई भोट कसरी हाल्ने भन्ने सिकाएका छन्। उनी आफ्नो टोलबाट सतप्रतिशत मत खस्नेमा ढुक्क छन्। उनको टोलमा राजनीतिक गतिविधि पनि तीव्र छ। सबै पार्टी मत माग्न घरमा पुगेका छन्। सबैले आफू नै राम्रो भएको  दाबी गरेका छन्। तर भण्डारीका अनुसार को राम्रो, को नराम्रो भनेर छुट्याउने जिम्मेवारी मतदाताको हो।

'सबैले आफैंलाई राम्रो भनेर दाबी गरेका छन। कसैले आफूलाई नराम्रो भन्दैन', उनले भने, 'को राम्रो, को नराम्रो भनेर छुट्याउने जिम्मेवारी हाम्रो हो। हामी त्यसको छिनोफानो मतदानबाट गछर्ौं।'

असार १४ गते हुने चुनावमा टीकापुर नगरपालिकाका ३९ हजारभन्दा बढी मतदाताले भाग लिनेछन्। उनीहरूले एक मेयर एक उपमेयर र नौ वडाका वडाध्यक्ष र सदस्य चयन गर्नेछन्। टीकापुरमा मेयरमा ११ जना र उपमेयरमा ९ जनाको उम्मेदवारी परेको छ।

प्रकाशित: ८ असार २०७४ ०२:३२ बिहीबार