राजनीति

चिह्नसहित चुनावी मैदानमा उम्मेदवार

काठमाडौं-स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भाग लिएका ६२ हजारभन्दा बढी उम्मेदवारहरू मंगलबार चुनाव चिह्न लिएर प्रचार अभियानमा खटिएका छन् ।

असार १४ गते प्रदेश नम्बर १, ५ र ७ का तीन सय ३४ स्थानीय तहमा हुने निर्वाचनका लागि प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र वडा सदस्यका उम्मेदवारले सम्बन्धित मुख्य÷ निर्वाचन अधिकृतको कार्यालयबाट चुनाव चिह्न पाएका छन् । चुनाव चिह्न पाएसँगै दलीय र स्वतन्त्रतर्फका उम्मेदवारहरू प्रचारप्रसारमा सक्रिय भएका छन् ।

निर्वाचन आयोगले मुख्य÷जिल्ला निर्वाचन अधिकृतको कार्यालयमार्फत मंगलबार बिहान साढे ११ बजेदेखि अपराह्न ६ बजेसम्म दलीय र स्वतन्त्र उम्मेदवारलाई चिह्न प्रदान गरेको हो । आयोगका अनुसार संसद्मा प्रतिनिधित्व गर्ने २७ दलका उम्मेदवारले पार्टीगत आधारमा र अन्यले स्वतन्त्र चिह्न पाएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मनोनयन दर्ता गराएका उम्मेदवारलाई मंगलबार बिहान ८ बजेदेखि ११ बजेस्म्म उम्मेदवारी फिर्ता लिने समय दिइएको र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी साँझ ६ बजेसम्म चुनाव चिह्न प्रदान गरिएको जानकारी दिए । ‘नाम फिर्ता लिने समय सकिएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी तीन सय ३४ स्थानीय तहका झन्डै ६२ हजार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ,’ प्रवक्ता शर्माले नागरिकसँग भने, ‘निर्वाचन चिह्न पाएसँगै उम्मेदवारहरू चुनावी प्रचारमा लागेका छन् ।’ आयोगले राष्ट्रिय जनता पार्टीलगायतका दललाई स्वतन्त्र चिह्न प्रदान गरेको छ । असार १४ गते हुने निर्वाचनमा भाग लिने उम्मेदवारहरूले गत आइतबार सम्बन्धित मुख्य÷निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरेका थिए ।

आयोगका अनुसार दोस्रो चरणअन्तर्गत निर्वाचन हुने तीन सय ३४ स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य गरी १५ हजार ३८ पदमा झन्डै ६२ हजार बढीको उम्मेदवारी परेको आयोगले जनाएको छ । आयोग प्रवक्ता शर्माले झन्डै ६२ हजार उम्मेदवार भएको प्रारम्भिक तथ्यांक भए पनि पूर्ण विवरण भने आइनसकेको बताए । उनका अनुसार तीन सय ३४ स्थानीय तहमध्ये तीन सय ६ स्थानीय तहको मात्रै विस्तृत विवरण आइसकेको छ भने २८ वटा स्थानीय तहको उम्मेदवारको विस्तृत विवरण आउन बाँकी छ । आयोगका अनुसार तीन सय ६ स्थानीय तहमा ५७ हजार आठ सय जनाले उम्मेदवारी दिएका छन् । ‘भौगोलिक विकटता र सञ्चारको पहुँच नभएका कारण २८ वटा स्थानीय तहको विस्तृत विवरण आउन बाँकी छ,’ आयोग प्रवक्ता शर्माले भने, ‘आइतबार मनोनयन दर्ता गराएका मध्ये केहीले उम्मेदवारी फिर्ता पनि लिएका छन् । यसरी हेर्दा समग्रमा ६२ हजार उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएको प्रारम्भिक तथ्यांकले देखाउँछ ।’

निर्वाचन आयुक्त नरेन्द्र दाहालले निर्वाचन चिह्न लिएपछि दल र उम्मेदवारहरू मौन अवधि सुरु नहुन्जेल प्रचारप्रसारमा जुट्ने बताए । ‘शान्तिपूर्ण र उत्साहपूर्ण तरिकाले उम्मेदवार मनोनयन र निर्वाचन चिह्न दिने काम सम्पन्न भएको छ,’ उनले भने, ‘अब मौन अवधि सुरु हुने बेलासम्म उम्मेदवारहरू प्रचारप्रसारमा जुटेका छन् ।’ आयोगले सोमबारमात्रै प्रचारप्रसार र राजनीतिक गतिविधिलाई सभ्य, अनुशासित र मर्यादित बनाउन राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ ।

स्थानीय तहको निर्वाचनका लागि आयोगले फोटोसहितको मतदाता परिचयपत्र अनिवार्य गरेको छ । यसका लागि मतदाता परिचयपत्र जिल्ला पठाइसकिएको र असार ११, १२ र १३ गते सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण हुने आयोगले जनाएको छ । असार १४ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ । मतदानमा ६४ लाख ३२ हजार सात सय ६५ मतदाताले भाग लिनेछन् । उक्त निर्वाचनमा १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित गर्नेछन् ।

देशभरका सात सय ४४ स्थानीय तहमध्ये यसअघि गत वैशाख ३१ गते पहिलो चरणअन्तर्गत प्रदेश नम्बर ३, ४ र ६ का दुई सय ८३ स्थानमा निर्वाचन सम्पन्न भइसकेको छ । प्रदेश नम्बर २ अन्तर्गतका स्थानीय तहको निर्वाचन भने आगामी असोज २ गते हुने कार्यक्रम छ।

प्रकाशित: ७ असार २०७४ ०३:४१ बुधबार