राजनीति

एमाले वडाध्यक्ष उम्मेदवारको घरमा बम विष्फोट, एक घाईते

खोटाङ– अज्ञात समूहले खोटाङमा एमाले वडाध्यक्षका उम्मेदवारको घरमा सुतली बम बिष्फोट गराएको छ। रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडाध्यक्षका उम्मेद्वार लिला चौहानको घरमा मंगलबार राती बम बिष्फोट गराएको हो । बिष्फोटमा वडाध्यक्षका प्रत्यासी चौहानकी बुहारी शकुन्तला चौहान घाईते भएकी छन् । उनको दुबै खुट्टा डढ्नुका साथै चोट लागेको छ । शकुन्तलाको दाहिने खुट्टाको फिलामा समेत चोट लागेको उम्मेद्वार चौहानका भतिज दानबहादुर चौहानले बताए। घरको सामुन्ने रहेको भान्छा कोठामा उम्मेद्वार चौहानका दाजु टेकबहादुर, बुहारी शकुन्तला र ८ महिने भतिज किस्मत बसेर खाना खाइरहेको अवस्थामा दुई वटा सुतली बम बिष्फोट गराइएको हो । पहिलोपल्ट हानिएको बम बिष्फोट नभएपछि तत्काल दोश्रो बम हानिएको चौहान परिवारले बताएको छ । पहिलो बम नपड्केपछि अत्तालिएर भाग्दाभाग्दै अर्को बम हानिएको जानकारी आएको एमाले खोटाङका अध्यक्ष बबी चामलीङले बताए । घाईतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

चौहान परिवारका अनुसार अपरिचित दुई युवकले स्थानीय कृष्ण खत्रीको घर सोधेर गएको आघा घण्टापछि बम बिष्फोट भएको हो । विष्फोटबाट किचनमा जमिन फाटेको छ । उम्मेद्वार चौहान चुनावी घरदैलो अभियानमै रहेका समयमा विष्फोट गराइएको हो । बिष्फोटकाबेलामा उम्मेद्वार चौहानकी आमा भने घरको माथिल्लो तलामा सुतीरहेकी थिईन् । प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले भने भान्छा घर नजिक सुतली बम बिष्फोट गराइएको बताए । ‘दुई वटा सुतली बम हानिएको जानकारी आएको छ,’ प्रजिअ पोखरेलले भने, ‘विष्फोटमा एक जना घाईते भएको छ। विस्तृत जानकारी आउन बाँकी छ।’

विष्फोटमा संलग्नको पहिचान हुन सकेको छैन । बिष्फोट नभएको सुतली बम निष्क्रिया पार्नका लागि दिक्तेलस्थित नेपाली सेनाको बिस्फोजल टोली बुधबार बिहान घट्नास्थल पुगेको छ।

प्रकाशित: ७ असार २०७४ ०३:३६ बुधबार