राजनीति

धार्मिक पर्यटनबाट विकास सम्भव: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले धार्मिकस्थललाई पर्यटनसँग जोडेर विकास गर्नुपर्ने बताएका छन्।

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित मुक्तिनाथ च्यवनधाममा आजदेखि सुरु भएको बोलबम धार्मिक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले धार्मिकस्थललाई पर्यटनसँग जोड्न सकिए विकास सम्भव रहेको उल्लेख गरेका हुन्।

गण्डकी प्रदेश धार्मिक पर्यटनमा धनी रहेकाले धार्मिक पर्यटनको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने उनको भनाइ छ। मुक्तिनाथ च्वयनधाम पछिल्लो समय धार्मिक पर्यटकीयस्थलका रूपमा विकास भइरहेकाले यसको आवश्यक पूर्वाधार विकासका लागि सरकार सकारात्मक रहेको मुख्यमन्त्री पाण्डेले उल्लेख गरे।

उनले भने, “गण्डकी प्रदेश पर्यटनमा धनी छ, धार्मिक पर्यटनमा गण्डकी प्रदेशमा प्रशस्त सम्भावना छ। यसतर्फ सरकारको ध्यान गएको छ।”

च्वयनधाम र गौसंरक्षण केन्द्र सञ्चालनार्थ आर्थिक सङ्कलन गर्ने उद्देश्यसहित च्यवनधाममा बोलबम महोत्सव आयोजना गरिएको हो। साउन १५ गतेसम्म हुने उक्त महोत्सवमा भागवत् मञ्जरी राधिका दासीजीले कथा वाचन गर्नेछन्।

प्रकाशित: ८ श्रावण २०८० १५:१८ सोमबार

सुरेन्द्रराज पाण्डे