राजनीति

सरकारले भ्रष्टाचार काण्डका दोषीहरुलाई निर्ममतापूर्वक कारबाही गर्नु पर्छः घनश्याम भुसाल

फाइल तस्बिर

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले सरकारले भ्रष्टाचार काण्डका दोषीहरुलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित ‘समाजवादी यात्राको चुनौतिः भ्रष्टाचार र दण्डहिनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणमा संलग्न भ्रष्टहरुलाई कडा कारबाही गर्न सरकारलाई सचेत गराएका हुन्।

अब जन्मिने, जन्मिन सक्ने, जन्मिने लाईनमा रहेका भ्रष्टहरुको अहिलेनै भ्रुण तुहिनेगरी सरकारले भ्रष्टहरुमाथि कारबाही गर्नुपर्ने महासचिव भुसालको भनाइ थियो। उनले मुलुकबाट भ्रष्टाचार पूर्ण रुपमा नियन्त्रण गर्न भने हरेक पार्टी भित्रैबाट भ्रष्टाचारविरोधी अभियान सुरु गर्नुपर्ने बताए। गृहमन्त्री नारायणकाजी श्रेष्ठ जस्ता एक व्यक्तिले मात्रै भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने भएकाले पार्टी भित्रैबाट त्यस विरुद्ध अभियान छेडनुपर्ने उनको भनाइ छ।

महासचिव भुसालले समाजवादको यात्रालाई ठिक ढंगले अघि बढाउन पनि हरेकले आफ्नो पार्टी स्वयम्लाई भ्रष्टाचार विरोधी बनाउन सक्नुपर्ने जिकीर गरे।

उनले भने, ‘समाजवादको यात्रालाई ठिक राख्ने हो भने कमरेड पार्टी स्वयमलाई भ्रष्टाचार विरोधी बनाउन सकिउन भने समाजवादको यात्रा सुरक्षित हुँदैन। एउटा गृहमन्त्री आएर, एउटा भाषण गरेर, एउटा गोष्ठी गरेर हुँदैन। हाम्रो गृहमन्त्री राम्रो गृहमन्त्री बन्ने कुराको, राम्रे कार्यक्रम गर्ने कुराको यो सबै कुराको कन्ट्रिब्युसन के होस भने समाजवादलाई ग्यारेन्टी गर्ने हो भने समाजवादी पार्टी चाहिन्छ। त्यस्तो पार्टी बन्ने हो भने त्यसका एउटै चरित्र हुनेछ, सम्भवत एउटै चरित्र हुनेछ। सिद्धान्तका, विचारका ठूल्ठूला भयंकर क्रान्तिकारी कुरा गरौला कमरेड। तर त्यो पार्टीका नेता, कार्यकता, जुन पार्टीका नेता, कार्यकर्ता आम्दानी भन्दा बढि उपभोग गर्छन, कमाई भन्दा बढि उपभोग गर्छन। तिनले जतिसुकै समाजवादको कुरा गरेपनि अन्तत तिनलाई दलाल पूँजीवादले किनिछाडछ। तिनी भ्रष्ट भई छाडछन। एकातिर अहिलेका यी भ्रष्टाचार काण्डहरुका दोषीहरुलाई निर्ममतापूर्वक कारबाही गरियोस् ताकि अव जन्मिने, जन्मिन सक्ने, जन्मिने लाईनमा रहेका भ्रष्टहरुको अहिलेनै भ्रुण तुहियोस्। नजन्मिउन तिनीहरु। त्यो होस्। त्यो ठिक छ। तर यसले मात्रै पुग्दैन। मैले भन्न खोजेको यसले मात्रै पुग्दैन। पार्टी भित्र यो बहस सुरु हुनुपर्‍यो। हरेक कमिटीमा यो छलफल सुरु हुनु पर्‍यो। पार्टीका हरेक कमिटीहरुमा खासगरीे सेन्ट्रल कमिटीहरुमा पहिला कम्युनिष्ट पार्टीबाटै सुरु गर्नु पर्‍यो। हामी मध्ये यो उपभोग र उत्पादनका हिसावले उत्पादन भन्दा उपभोग बढि नगरेका हामी को छौं भन्ने कुरा त्यो कमिटीमै ग्यारेन्टी हुनुपर्‍यो। पार्टीको ग्यारेन्टी हुनुपर्‍यो । त्यसो भयो भने त्यो पार्टी नै क्रान्तिकारी पार्टी हुन्छ।’

प्रकाशित: ८ श्रावण २०८० ०९:०१ सोमबार

घनश्याम भुसाल