राजनीति

पैसा खाएको आरोप पुष्टि गर्न उपेन्द्र यादवको चुनौती

काठमाडौं- संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पैसा लिएर चुनावमा गएको भन्दै आफूविरुद्ध राजपा नेताले लगाएको आरोपको प्रमाण पेस गर्न चुनौती दिएका छन्। अध्यक्ष यादवले आरोपको खण्डन गर्दै प्रमाणित गर्न राजपालाई कडा चुनौती दिएका हुन्।

'जसले यस्तो घटिया आरोप लगाएको छ, उसले आरोप पुष्टि गर्न तत्काल प्रमाण पेस गरोस्, तर प्रमाण दिन सक्दैन भने मधेसी जनतासँग सार्वजनिक रुपमा माफी मागोस्,' फोरम नेपालका अध्यक्ष यादवले भने। राजपाको राजनीति दिशाहीन र औचित्यहीन भइसकेकोले दिग्भ्रमित राजपा नेताहरुले सन्तुलन गुमाएर यस्तो घटिया अभिव्यक्ति दिन थालेको यादवले प्रतिटिप्पणी गरे।

राजपा आफैँ बाहिरबाट परिचालित पार्टी भएको टिप्पणी गर्दै अध्यक्ष यादवले मनिष सुमन आफैँले कसैको पैसा खाएर यस्तो घटिया आरोप लगाएको हुनसक्ने जिकिर गरे। उनले भने, 'अरुमाथि यसरी आरोप लगाउने राजपाजस्तो पार्टीको आयस्रोत के हो? कहाँबाट सञ्चालित छ? कसरी चलेको छ? यसको जवाफ राजपासँग छ?'

राजपा नेताहरुसँग राजनीतिक एजेन्डा नै नभएकाले अरुको चरित्र हत्या गर्ने, निराधार भ्रम सिर्जना गर्ने र बदनियतपूर्ण आरोप लगाउने जस्ता घटिया कार्यमा उत्रेको यादवले प्रतिक्रिया दिए।

'यस्ता वाहियात अभिव्यक्तिले प्रमाणित हुन्छ कि राजपा नेताहरु आन्दोलनबाट विचलित भइसकेका छन्। राजपाको यस्तो तल्लोस्तरको गैरजिम्मेबार हर्कत मधेसका लागि घातक छ,' अध्यक्ष यादवले भने।

अध्यक्ष यादवले राजपा नेताहरुलाई सन्तुलन नगुमाई संयमित रहन, निष्ठा एवं एजेन्डामुखि राजनीति गर्न आग्रह गरेका छन्। राजपा नेता मनिष सुमनले सोमबार रिपोर्टर्स क्लबमा बोल्दै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि सरकारसँग पैसा लिएर चुनावमा गएको आरोप लगाएका थिए।

प्रकाशित: ५ असार २०७४ १२:४१ सोमबार