राजनीति

एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) राख्न प्रस्ताव

फाइल तस्वीर

डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी (नेसपा) ले नेकपा माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्न लिखित प्रस्ताव गर्दै एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) राख्न प्रस्ताव गरेको छ। नेसपाका अध्यक्ष महिन्द्र राय यादवका अनुसार गत जेठमै माओवादी केन्द्रसमक्ष यस्तो प्रस्ताव पठाइएका हो। ‘माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्न हामीले जेठमै लिखित प्रस्ताव पठाएका छौं,’ उनले भने, ‘हामीले औपचारिक रूपमा एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) राख्न प्रस्ताव गरेका हौं।’

माओवादी केन्द्र र नेसपाबीच एकीकरण भए एकीकृत पार्टीको चुनाव चिह्न परिवर्तन गर्नुपर्ने तर झन्डा भने माओवादी केन्द्रकै कायम राख्नुपर्ने सुझाव नेसपाले दिएको यादवले बताए।

 ‘एकीकरणपछि अहिलेको चुनाव चिह्न फेरौं तर झन्डा भने कायम राखौं भन्ने हाम्रो प्रस्ताव छ,’ उनले भने। नेसपाले माओवादी केन्द्रलाई पठाएको लिखित प्रस्तावका विषयमा माओवादी केन्द्रबाट अहिलेसम्म कुनै जवाफ नआएको उनको भनाइ छ। ‘हामी जवाफ पर्खिरहेका छौं,’ उनले भने। माओवादी केन्द्रबाट औपचारिक जवाफ नआएसम्म एकताको पक्षमा नेसपाका नेताहरू एक ठाउँमै रहेको उनले दाबी गरे।

माओवादी केन्द्र र नेसपाबीच एकीकरण भए एकीकृत पार्टीको चुनाव चिह्न परिवर्तन गर्नुपर्ने तर झन्डा भने माओवादी केन्द्रकै कायम राख्नुपर्ने सुझाव नेसपाले दिएको यादवले बताए।

यादवले यस्तो दाबी गरे पनि नेसपालाई बाहिर राखेर समाजवादी मोर्चा गठन गरिएपछि माओवादी केन्द्रसँग एकतालाई प्राथमिकतामा राख्ने कि नराख्ने भन्ने विषयमा नेसपाका शीर्ष नेताहरू दुई धारमा बाँडिएको पार्टी स्रोतले बतायो। पार्टीका एक थरी नेताहरू माओवादी केन्द्रसँगको एकीकरणलाई जोड दिएका छन् भने अर्काथरी नेताहरू एकीकरणको विषयमा प्राथमिकता दिन छाडेका छन्। पार्टी स्रोतका अनुसार यही विषयमा अहिले पार्टी दुई लाइनमा बाँडिएको छ। नेसपाका अध्यक्ष यादवले भने जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवका कारण समाजवादी मोर्चामा नेसपा नअटेको आफ्नो बुझाइ रहेको बताए।

‘उहाँ (उपेन्द्र यादव) ले बाबुरामजीलाई समाजवादी मोर्चामा राखेपछि हामी (जसपा) मोर्चामा रहँदैनौं भनी सर्त नै राख्नुभयो भन्ने सुनेको छु,’ यादवले भने, ‘उपेन्द्रजीकै सर्तको कारण हामी समाजवादी मोर्चामा नअटेका हौं।’ माओवादीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले माओवादी केन्द्रसँग एकता गर्ने विषयमा पार्टीमा विवाद नभएको, पार्टीको धारणा एउटै रहेको उनको भनाइ छ।

पार्टीका एक नेताका अनुसार पछिल्लो समय पार्टी अध्यक्ष डा. भट्टराई माओवादी केन्द्रसँग तत्कालै एकता गर्नुपर्छ भन्ने पक्षमा उत्साहित छैनन्। ‘खासगरी नेसपालाई बाहिर राखेर समाजवादी मोर्चा गठन भएपछि उहाँ (बाबुराम भट्टराई) एकताप्रति त्यति इच्छुक देखिनुभएको छैन,’ ती नेताले भने। ती नेताका अनुसार अर्का अध्यक्ष महिन्द्र यादव भने माओवादी केन्द्रसँग एकता गर्नुपर्ने पक्षमा जोडबलका साथ लागेका छन्। माओवादी केन्द्रसँग एकीकरण नगरे पार्टी सिद्धिने उनको बुझाइ छ।

‘जेठ २५ र २६ मा सम्पन्न नेसपाको केन्द्रीय समितिको बैठकले नीति, सिद्धान्त र विचार मिल्ने पार्टी र समूहहरूसँग संवाद सहकार्य बढाउँदै धुवीकरणको पहल गर्ने निर्णय गरेको छ,’ सहअध्यक्ष श्रेष्ठले भने, ‘माओवादीसँग एकता गर्ने विषयमा हामीले माओवादी केन्द्रसमक्ष लिखित प्रस्ताव पठाएका छौं।’

पार्टीका एक नेताका अनुसार पछिल्लो समय पार्टी अध्यक्ष डा. भट्टराई माओवादी केन्द्रसँग तत्कालै एकता गर्नुपर्छ भन्ने पक्षमा उत्साहित छैनन्।

माओवादी केन्द्रबाट लिखित प्रस्तावको जवाफ नआएसम्म एकता सम्बन्धमा पार्टीले थप निर्णय नगरेको उनले बताए। २०७९ मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा नेसपाका नेताहरू माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी भएका थिए। त्यति बेला नै माओवादी र नेसपाबीच एकता गर्ने सहमति भएको थियो तर सहमति भएको एक वर्ष पुग्दासम्म एकताको टुंगो लागको छैन।

जसपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला डा. बाबुराम भट्टराई, महन्द्रि राय यादव र भट्टराईनिकट नेताहरूले २०७९ साउन १२ गते निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी (नेसपा) विधिवत् रूपमा दर्ता गराएका थिए।

दीपक लामिछानेले पहिले नै दर्ता गराएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को नाम परिवर्तन गरेर भट्टराईले पार्टीको नेसपा नाम राखेका हुन्। जसपामा विवाद चर्कन थालेपछि भट्टराईनिकट नेता लामिछानेले निर्वाचन आयोगमा लोसपा दर्ता गराएका थिए। पार्टीको चुनाव चिह्न ‘आँखा’ रहेको छ। यसअघि तत्कालीन नयाँ शक्ति पार्टीको चुनाव चिह्न पनि ‘आँखा’ थियो। भट्टराईकै निर्देशनमा लामिछानेले चुनाव चिह्न आँखा रोजेका थिए।

प्रकाशित: ८ श्रावण २०८० ०१:०२ सोमबार

अध्यक्ष डा. बाबुराम भट्टराई नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) राख्न प्रस्ताव