राजनीति

गुटले गिजोलिएको कांग्रेसमा बृहत् एकता बहस

‘कांग्रेस एक मिसन, एक लक्ष्यका साथ प्रस्तुत हुन्छौं कि हुँदैनौं ? कांग्रेसको अगाडि ठुलो र ज्वलन्त प्रश्न र छलफलको आवश्यकता छ। हामी कार्यक्रम गर्छौं, पटकपटक गरौंला। तर एउटा समूहको कार्यक्रम हुने, एउटा गुटको कार्यक्रम हुने भयो भने हामीले प्राप्त गर्न खोजेको लक्ष्य पूरा हुँदैन।’ नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका केन्द्रीय सदस्य प्रकाशशरण महतले जारी केन्द्रीय समितिको बैठकमा राखेको अभिव्यक्ति हो यो। मंगलबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा महतले मात्र होइन, आफ्ना धारणा राखेका धेरै केन्द्रीय सदस्यले पार्टीमा संस्थाभन्दा व्यक्ति हाबी भएको भन्दै गुनासो गरे। त्यति मात्र होइन, पार्टीभित्र मौलाएको गुटबन्दी अन्त्यका लागि जोड दिँदै उनीहरूले भनेका छन्, ‘हामीभित्र मजबुत एकता कायम हुन सक्यो भने कांग्रेसलाई कसैले परास्त गर्न सक्दैन।’

तर पार्टीभित्र बृहत् एकता र गुटबन्दी अन्त्यको वकालत गर्ने केन्द्रीय सदस्यहरू आफैं विभिन्न गुट र उपगुटबाट प्रभावित भएर बैठकमा धारणा राख्न पनि छाडेका छैनन्। आफू र आफूनिकट नेता र गुटको बचाउ गर्ने, अर्को समूह र नेताको विपक्षमा मत राख्ने प्रवृत्तिले बैठकको सुरुकै दिनदेखि आइतरबारसम्म निरन्तरता पाइरहेको छ। तर सबै नेताले गुटबन्दी अन्त्य र पार्टीभित्रको एकताको कुरामा जोड दिन भने छाडेका छैनन्। आफू संलग्न गुटलाई बलियो बनाई अर्को गुटलाई कमजोर पार्न नेताहरू निरन्तर सक्रिय छन्।

केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले त कुनै पनि गुटले नपत्याएपछि गुट अन्त्य गर्नुपर्छ भन्दै नेताहरू हिँडेको पनि आरोप लगाए। ‘गुटको अन्त्य गरेको भनेको छ, जसले त्यो भनेर हिँडेको छ, उसैले गुटमा लागेर फाइदा लिएको छ,’ बस्नेतले भने, ‘पार्टी विधिबाट चल्नुपर्छ भन्ने अनि एकातिर लागेर व्यक्तिगत महत्वाकांक्षा सडकमा छ्यालब्याल गर्दा पार्टीलाई राम्रो हुन्छ?’ बस्नेतले भनेजस्तै पार्टीभित्रको आन्तरिक विवाद सडकमा पोख्दा संगठन बलियो हुँदैन। तर के बस्नेतसहित कांग्रेसका नेताहरू गुटभन्दा माथि उठेर पार्टी र संगठनको पक्षमा सक्रिय भएका छन् त? स्थापनादेखि नै कांग्रेस गुट र उपगुटमा विभाजित हुँदा आज त्यसको असर टोलसम्म पुगेको छ। कांग्रेसका नेता तथा कार्यकर्ताले पार्टी संगठनलाई होइन, गुटलाई महत्व दिँदै आएका छन्। त्यसले कांग्रेसमा गुट तथा उपगुटको संख्या थप मौलाउँदै गएका छन्। पार्टी संगठन विस्तारभन्दा गुट भत्काउन र विस्तार गर्न कांग्रेस नेताहरू सक्रिय छन्। जसले गर्दा कांग्रेसमा दर्जनजति गुट तथा उपगुट सक्रिय छन्। त्यसकै आधारमा सत्ता र शक्तिमा भागबन्डा पाउने परम्परा विकास र विस्तार हुँदै आएको कांग्रेस नेताहरू बताउँछन्।

कांग्रेसका नेता तथा कार्यकर्ताले पार्टी संगठनलाई होइन, गुटलाई महत्व दिँदै आएका छन्। त्यसले कांग्रेसमा गुट तथा उपगुटको संख्या थप मौलाउँदै गएका छन्।

कांग्रेसमा मुख्यतया सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला नेतृत्वका आआफ्नै गुट देखिन्छन्। तर देउवा र कोइराला नेतृत्वमा रहेको गुटभित्र पनि उपगुटहरूको संख्या मनग्य छ। सभापति देउवा नेतृत्वमा रहेको मूल गुटभित्र उपसभापति पूर्णबहादुर खड्कासहितका नेताहरूको एउटा समूह सक्रिय छ। साथै सभापति देउवा पत्नी समेत रहेकी केन्द्रीय सदस्य आरजु राणा, पार्टी प्रवक्ता प्रकाशरण महतसहित नेताहरू रहेको अर्को समूह त्यहाँ सक्रिय छ। गृहमन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेता बालकृष्ण खाण पार्टीमा आफ्नो छुट्टै पहिचान र समूह बनाउन सक्रिय थिए। तर उनी अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा छन्।

त्यस्तै नेता शेखर कोइरालाको नेतृत्वमा संस्थापन इतरका नेताहरू पार्टीको १४औं महाधिवेशनमा गोलबद्ध भएका थिए। शेखर सभापतिमा पराजित भए पनि उनको समूहबाट उपसभापतिमा धनराज गुरुङ, महामन्त्रीमा गगनकुमार थापा तथा सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार निर्वाचित भएका छन्। महाधिवेशन र त्यसयता नै महामन्त्री थापा आफ्नो छुट्टै समूह बनाउन सक्रिय छन्। बाहिरबाट हेर्दा संस्थापन इतर समूह शेखर नेतृत्वमा गोलबद्ध रहेजस्तो देखिए पनि थापाले अलग अभ्यास गर्दै आएका छन्।

पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासहितका युवा नेतालाई गोलबद्ध गरेर थापा अघि बढ्ने प्रयासमा छन्। पुस ६ गते भएको संसदीय दलको निर्वाचनमा शर्मा र प्रदीप पौडेललाई पनि साथ लिएर संसदीय दलको नेतामा थापाले उम्मेदवारी दिएका थिए। तर शर्मा र पौडेल दुवै थापालाई नेता मान्न तयार नरहेको निकटहरूको दाबी छ।

पार्टीको १४औं महाधिवेशनमा प्रकाशमान सिंहसँग जोडिएर शर्माले महामन्त्रीको उम्मेदवारी दिएका थिए। तर गुटगत रूपमा सिंहसँग शर्माको निकटता खासै नरहेको निकटहरू बताउँछन्। पार्टी उपसभापति पूर्णबहादुर खड्कासँग शर्माको निकटता बढिरहेको बताइन्छ। पार्टीभित्र शर्मा आफैं अलग समूह र पहिचान स्थापित गर्न सक्रिय छन्। पौडेलले पार्टीको १४औं महाधिवेशनमा थापा र शर्मासँगै महामन्त्रीमा प्रतिस्पर्धा गरेका थिए।

पार्टीको १३औं महाधिवेशनबाट तेस्रो धारका रूपमा उदाएको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट पौडेल महामन्त्रीको उम्मेदवार बनेका थिए। १३औं महाधिवेशनपछि सभापति देउवा नेतृत्वको समूहको उपसमूह जस्तो रहेको सिटौला पक्षलाई १४औं महाधिवेशनमा महामन्त्रीको भाग परेको थियो। सिटौला समूहबाट स्वास्थ्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थापा सो समूह छाडेर शेखरतिर लागेका थिए। त्यसपछि सिटौलाले पौडेललाई महामन्त्रीका रूपमा अघि सारेका थिए। तर पौडेल महामन्त्रीमा पराजित भए।

 पुसमा भएको संसदीय दलको निर्वाचनमा सिटौलाको चाहनाविपरित थापाको पक्षमा पौडेल उभिएसँगै उनको सिटौलासँगको सम्बन्ध चिसिन पुगेको छ। पार्टीको महाधिवेशनमा जस्तै सिटौला संसदी दलको निर्वाचनमा पनि देउवालाई सहयोग गर्न चाहन्थे।

पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासहितका युवा नेतालाई गोलबद्ध गरेर थापा अघि बढ्ने प्रयासमा छन्। पुस ६ गते भएको संसदीय दलको निर्वाचनमा शर्मा र प्रदीप पौडेललाई पनि साथ लिएर संसदीय दलको नेतामा थापाले उम्मेदवारी दिएका थिए। तर शर्मा र पौडेल दुवै थापालाई नेता मान्न तयार नरहेको निकटहरूको दाबी छ।

सहमहामन्त्री फरमुल्लाह मन्सुरले भनेजस्तै पार्टीभित्र होस् वा सत्ता र शक्तिमा सिटौला पनि एउटा सेयर होल्डर छन्। उनी मात्र होइन, पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह तथा विजयकुमार गच्छदार, पूर्वमहामन्त्री शशांक कोइराला नेतृत्वमा उपसमुहरू सक्रिय छन्। पार्टीको १४औं महाधिवेशनमा निधि र सिंह दुवै सभापतिको प्रतिस्पर्धामा उत्रिएका थिए।

 देउवासँगको सम्बन्धन चिसिँदै गएपछि निधि उनको विकल्प खोज्नुपर्ने जनाउँदै नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिएका थिए। नेता रामचन्द्र पौडेललाई १३औं महाधिवेशनमा सहयोग गरेका सिंह शेखर कोइराला आफूभन्दा कनिष्ठ रहेको भन्दै नेतृत्वको प्रतिस्पर्धामा उत्रिएका थिए। सिंह निर्वाचन प्रतिस्पर्धामा उत्रिछाड्ने अडानपछि वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल नेतृत्व प्रतिस्पर्धाबाट अलग भएका थिए।

पार्टी नेतृत्वको प्रतिस्पर्धामा पौडेल मौन बसेका थिए। देउवाकै साथ र सहयोगबाट राष्ट्रपतिको जिम्मेवारीमा पौडेल पुगे पनि कांग्रेसमा उनले अहिले पनि केही हिस्सेदारी लिने र पाउने गरेको नेताहरूको दाबी छ। दोस्रो चरणमा गएको नेतृत्व प्रतिस्पर्धामा निधि र सिंह देउवाकै पक्षमा उभिएका थिए। सभापति देउवासँगको सम्बन्ध निधिको केही सुधार भएको जनाइएको छ।

 सिंह र निधि दुवैले आआफ्नो समूह सञ्चालन गर्दै आएका छन्। पूर्वउपसभापति गच्छदार मात्र होइन, पूर्वमहामन्त्री शशांक कोइरालाको पनि समूह सक्रिय छ। दाजु शेखर कोइराला सभापतिको प्रतिस्पर्धामा उत्रिए पनि उनको पक्षमा नखुलेका शशांक १५औं महाधिवेशनमा सभापतिको प्रतिस्पर्धामा उत्रिने बताउँदै आएका छन्। सत्ता राजनीतिमा उनको उपस्थिति प्रभावकारी नदेखिए पनि पार्टीभित्रको भागबन्डा भने शशांक अहिले पनि हिस्सेदार छन्।

कसले के भने?

आइतबारको केन्द्रीय समितिको बैठकमा धारणा राख्दै शशांकले पार्टीमा गुटबन्दी मौलाउँदै गएकोमा असन्तुष्टि जनाए। नेतृत्वका लागि हुने प्रतिस्पर्धामा गुट हुनु स्वाभाविक भए पनि स्थायी प्रकृतिको गुटले पार्टीलाई फाइदा नगरेको धारणा राखे। पार्टीमा महिलाको सहभागिता बढाउनुपर्नेमा जोड दिँदै उनले क्रियाशील सदस्यता बढाउने भन्दा जनतालाई पार्टीमा आकर्षित गर्न लाग्नु पर्नेमा जोड दिए।

बैठकमा पूर्वउपसभापति निधिले पार्टीभित्र अनुहार, नाम र पद फेर्दैमा रूपान्तरण नहुने धारणा राखे। ‘अनुहार, नाम, पद फेर्नेले मात्र कांग्रेलाई रूपान्तरण र लक्ष्यमा पु‍र्‍याउँदैन। वडा र टोलमा बसोबास गर्ने सबै समुदायका जीवनस्तरमा रूपान्तरण कसरी ल्याउने हो, त्यो एजेन्डामा बहस गरौं, निर्माण गरौं। यसले पार्टी रूपान्तरण सहजै हुन्छ,’ उनले भने। सहमहामन्त्री बद्री पाण्डेले पार्टी संगठन बलियो बनाउन सबै लाग्नुपर्नेमा जोड दिए। पार्टीको संगठन मजबुत बनाउन लाग्नुपर्नेमा जोड दिँदै उनले भने, ‘एक्लै लड्ने कि गठबन्धन गर्ने, अहिले निक्र्योल गर्नुपर्दैन। पार्टी बनाउनतिर लागौं।’

नेता शेखर कोइरालाले भने आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गर्नुपर्ने तर्क राखेका छन्। केन्द्रीय समितिको बैठका १५ बुँदे धारणा राख्दै कोइराला सत्तालाई मात्र अन्तिम सत्य मान्दा राजनीतिक मूल्य, मान्यता, सिद्धान्त र आदर्श कमजोर बन्दै गएको भन्दै जनतासँग जोडिने कार्यक्रम लिएर जानुपर्ने धारणा राखे। ‘जनताले पत्याउने र भरोसा गर्ने कांग्रेस निर्माण गर्ने कार्य अब पनि ढिलो गर्दा हामी असान्दर्भिक हुने खतरा बढ्दो छ,’ उनले भने, ‘नेपाली समाजको बदलिँदो आर्थिक, सामाजिक र सांस्कृतिक आलोकमा पार्टीभित्र अनेकन पेसा, व्यवसाय, वर्ग र समुदायको सहभागिता अनिवार्य नै भएको छ।’

आइतबारको केन्द्रीय समितिको बैठकमा धारणा राख्दै शशांकले पार्टीमा गुटबन्दी मौलाउँदै गएकोमा असन्तुष्टि जनाए। नेतृत्वका लागि हुने प्रतिस्पर्धामा गुट हुनु स्वाभाविक भए पनि स्थायी प्रकृतिको गुटले पार्टीलाई फाइदा नगरेको धारणा राखे।

केन्द्रीय सदस्य एनपी साउदले कांग्रेस सही बाटोमा हिँडेको र सही बाटोमा हिँड्न आत्मविश्वास राखेर अगाडि बढ्नुपर्नेमा पनि जोड दिए। ‘नेपाली कांग्रेस ठिक बाटोमा छ। ठिक ट्र्याकमा छ,’ साउदले भने, ‘यो ठिक ट्र्याकमा जाने कुरामा आत्मविश्वास राखेर अगाडि बढ्नुपर्छ।’ राष्ट्रिय जीवनका हरेक पक्ष राजनीतिक हस्तक्षेपका कारण पक्षाघातका अवस्थामा पुगेको जनाउँदै अर्का केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले पार्टीभित्र बृहत्तर एकता कायम गर्दै सम्पूर्ण संयन्त्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिए।

अदालतलाई नै प्रभाव पार्ने गरी पार्टीका नेताहरू नेता बालकृष्ण खाणका विरुद्धमा उत्रिएको आरोप लगाउँदै सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले भनिन्, ‘हाम्रै एकजना साथीलाई आरोप लगाइएको छ। न्यायालयमा विचाराधीन मुद्दा रहेको छ। यो आरोपलाई प्रमाणित गराउन हाम्रै साथीहरूले दबाब दिनुभएको छ।’

अर्का सहमहामन्त्री किशोर सिंह राठोरले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापालाई सभापतिलाई कन्फिडेन्टमा लिएर पार्टीलाई अघि बढाउने आग्रह गरे। कांग्रेस बैठकमा धर्मनिरपेक्षता, निर्वाचन प्रणाली, संघीयतासहितका विषयमा सदस्यहरूले प्रश्न उठाएका छन्। मंगलबारदेखि जारी केनद्रीय समितिको सोमबारको बैठकमा महामन्त्रीद्वय थापा र शर्माका साथै उपसभापतिहरू पूर्णबहादुर खड्का तथा धनराज गुरुङ र सभापति देउवाले धारणा राख्नेछन्। बैठक ३ बजेका लागि बोलाइएको छ।

प्रकाशित: ८ श्रावण २०८० ००:४६ सोमबार

सहमहामन्त्री किशोर सिंह राठोर गुटले गिजोलिएको कांग्रेस बृहत् एकता बहस