राजनीति

राजपा कार्यकर्ताद्वारा मतदान अधिकृत कुटिए

मतदाता अधिकृतको तालिममा सहभागी भएर कार्यक्रमबाट फर्किने बेलामा कुटाई खाएका बाबुलाल सहनी। तस्बिर: उपेन्द्र

बारा- दोस्रो चरणको स्थानीय तह निर्वाचनमा खटिएका तीन जना मतदान अधिकृत राष्ट्रिय जनता दल (राजपा) का कार्यकर्ताद्वारा कुटिएका छन।

भरत चोक– कलैया अस्पताल सडकखण्ड अन्तर्गत राष्ट्रिय जनता पार्टी कार्यालयको अगाडि तीनैजना मतदान अधिकृत कुटिएको बारा प्रहरीले जनाएको छ। 

निर्वाचन कार्यालयले संचालन गरेको निर्वाचन सम्बन्धि तालिममा सहभागी भएर कलैयाबाट बाहिरिने क्रममा मतदान अधिकृत डा. विशेश्वर प्रसाद यादव, शंकर श्रेष्ठ र बाबुलाल सहनी कुटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

तालिमबाट मोटरसाईकलमा आउँदै गरेको कृषि अनुसन्धान कार्यालय केन्द्र परवानीपुरका उपसचिव समेत रहेका डा.विशेश्वर प्रसाद यादव, उखु अनुसन्धान केन्द्रका प्राविधिक रहेका  अधिकृत शंङ्कर श्रेष्ठलाई कुटपिट गरी घाइते बनाएको बाराका प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले बताए। निर्वाचनमा खटेका कर्मचारीहरुलाई कुटपिट गरेको र गाडीमा तोडफोड गरेको आरोपमा राजपाका कार्यकर्ता पन्नालाल पटेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक उप्रेतीले घटनामा संलग्न रहेका एक जनालाई पक्राउ गरी यसको बारेमा अनुसन्धान भइरहेको बताए।

त्यसै गरि जनस्वास्थ्य कार्यालय बाराका खोप सुपरभाईजर बाबुलाल सहनीलाई कपडा च्याती कुटपिट गरेको प्रहरीले जनाएको छ। राजपाका कार्यकर्ताद्वारा निर्वाचन कार्यमा प्रयोग भएको दुई वटा गाडीमा तोडफोड गरेको प्रहरी उपरीक्षक उप्रेतीले बताए।

रामराजा बहुमुखी क्याम्पस कलैया बरेवाबाट तालिम सकेर आउने क्रममा सोमवार साँझ साढे ५ बजे द सहारा बैंक अगाडि हुलमा आएका राजपाका कार्यकर्ताहरुले बा २ झ २४०२ र ना ३ च ६८८ नम्बरको टाटासुमोमा ढुङ्गामुढागरी दुबै गाडीमा क्षती पुर्‍याएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

 

 

प्रकाशित: २९ जेष्ठ २०७४ १३:५३ सोमबार

राजपा कार्यकर्ताद्वारा मतदान अधिकृत कुटिए