राजनीति

झण्डाको निहुमा बारम्बार झगडा

खोटाङ– स्थानीयको घरमा राखेको पार्टीको झण्डा झिकेको निहुमा जेठ २४ गते खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका कांग्रेस कार्यकर्ता अर्जुन राउत एमालेका कार्यकर्ता धनकुमार भुजेलबाट कुटिए। साविकको डिकुवा–७ का स्थानीयको घरमा एमालेले राखेको झण्डा कांग्रेस कार्याकर्ताले झिकेको निहुमा सुरु भएको बिवादकाक्रममा राउत कुटिएका हुन् । अघिल्लो दिन झण्डा झिकिएको विषयमा कार्यकर्तामाझमा उठेको आक्रोश र असहमझदारी व्यवस्थापनमा पार्टी नेतृत्वपंक्तीले संयमतापुर्वक ध्यान नदिँदा अनाहकमा सामान्य कार्यकर्ता आपसमा जुध्न पुगेका हुन् ।

यस्तै, जेठ २५ गते बिहिबार झण्डा निकालेकै विषयमा कांग्रेस कार्याकर्ताबाट एमाले दिप्रुङ गाउँपालिका–३ छोरम्बुका वडाध्यक्षका उम्मेदवार ईन्द्र तामाङ गम्भीर घाईते भए । छोरम्बु रुवलुङमा एक दिनअघि कांग्रेसले राखेको झण्डा निकालेर आफ्नो झण्डा राखिदिएको भन्दै तामाङमाथि कांग्रेस कार्याकर्ताबाट कुटपिट भएको हो । टाउको र शरीरका बिभिन्न भागमा गहिरो चोट लागेका तामाङलाई उपचारका लागि बिराटनगर पुर्‍याइएको छ । एमालेका अनुसार उनको अवस्था गम्भीर छ । झडपमा कांग्रेसतर्फका र एमालेतर्फका अन्य पनि सामान्य घाईते भएका छन् ।

यी केही उदाहरण हुन् । पार्टीको झण्डा झिकेको र च्यातेको विषयमा जिल्लामा छोटो समयमा फरक दलका कार्यकर्ताबीच कुटपिट तथा झडपका घट्ना बढ्न थालेका छन् । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा एमालेको झण्डा झिकेर कांग्रेसको झण्डा राखिएको विषयमा उत्पन्न बिवाद नसुल्झँदै छोरम्बुमा सोही प्रकृतिको घट्ना दोहोरिएको छ । गत वैशाख ८ गते पनि बुईपामा एमालेको कार्यक्रमस्थलबाट कांग्रेसको झण्डा राखेको बाईक ओहोरदोहोर गरेको विषयमा झडप भएको थियो । संयमता र धैर्यता राखेर कार्यकर्तालाई सम्झाई बुझाई शान्त पार्नुपर्ने बेलामा बुईपा घट्नामा दुबै पार्टीका ठूला नेताको आक्रोश र प्रबृत्ति सामान्य नागरिकको भन्दा कम देखिएन । आपसी विवादलाई शान्तिपूर्णरुपमा सहमतीमा टुंग्याउने प्रयास गर्नुको सट्टा दलका नेताहरुले नै कार्यकर्ता उक्साएपछि पार्टीको झण्डाकै निहुमा जिल्लामा कुटाकुटको श्रृंखला सुरु भएको हो । राजनैतिक बिवादकाबेलामा संयमता अपनाउनुको सट्टा नेतृत्वपंक्ती नै निर्वाचन आचार संहिता उल्लंघन गर्दै शक्ती प्रदर्शनमा उत्रने गरेको स्थानीयको भनाई छ । चुनावमा होमिएका दलका नेता तथा कार्यकर्ताले संयमता गुमाउँदा निर्वाचनको मिति नजिकिएसँगै जिल्लामा झण्डाकै विषयमा दलीय द्धन्द्ध बढ्दै जाँदा सर्वसाधारणमा भने चिन्ता छाएको छ । निर्वाचनका बेलामा नेतृत्वको संयमता गुम्दा कार्यकर्ताबीचमा पनि प्रतिपक्षीप्रति आक्रोश र प्रतिशोधको भावना फैलिरहेको दिक्तेल बहुमुखी क्याम्पसका प्राध्यपक रबिन सुनुवार बताउँछन् । ‘पहिलो त हामीमै नागरिक चेतनाको कमी छ । अर्को नेतृत्वबाट गलत स्कुलिङ गरिएको छ,’ प्राध्यपक सुनुवारले भने, ‘नत्र निर्वाचन प्रचार–प्रसारकैक्रममा आपसमा लँडाई गरिरहनु पर्ने जरुरत नै के छ र ?’ पार्टीलाई हाँक्ने लगाम लिएका नेतृत्वपक्षकै राजनैतिक सोच र प्रबृत्तिमा सुधार नआएसम्म कार्यकर्ताबीचको लडाँई नटुंगिने उनको भनाई छ ।

कतिपय अवस्थामा आफन्तबीचकै झगडालाई समेत उछालेर राजनितीकरण भइरहेको पाइएको छ । घरमा एमालेको झण्डा राखेकै विषयमा विवाद हुँदा जेठ १९ गते जन्तेढुंगा गाउँपालिका–२ बोपुङका सन्तोष राईमाथि सोही ठाउँका शक्तीराज राईले खुर्पा प्रहार गरे । बिवादलाई दोश्रो दिन सहमतीमा टुंग्याइए पनि माओवादी केन्द्र समर्थक शक्तीराज र एमाले समर्थक सन्तोषको झगडालाई राजनीतिकरणको प्रयास भएको थियो । स्वस्थ प्रतिष्पधा गर्ने प्रबृत्तिको अभावमा झण्डाको विषयमा दलबीच झगडा भएको मानव अधिकारकर्मी लोकनाथ घिमिरेले बताए । ‘झण्डा राख्ने विषयमा होडबाजी गरेर भोट पाइने कुरा होईन,’ घिमिरेले भने, ‘जिल्लामा नेताको ट्रेण्ड राम्रो देखिएन । यो गलत प्रबृत्ति हो।’

प्रकाशित: २८ जेष्ठ २०७४ ११:०३ आइतबार

झण्डाको निहुमा बारम्बार झगडा