राजनीति

गाउँमै मतदान केन्द्र भएपछि गुम्बावासी हर्षित

बाजुरा- हिमाली गाउँपालिका–३ गुम्बाका स्थानीय गाउँमै मतदान केन्द्र हुने भएपछि खुशी भएका छन्।मतदान केन्द्र टाढा भएकोले स्थानीय तह निर्वाचनमा सहभागि नहुने बताएका स्थानीयले गाउँमै केन्द्र थपिएपछि भाग लिने भएका हुन्।

निर्वाचन आयोगले जेष्ठ २५ गते गुम्बामा मतदान स्थल थप गर्ने निर्णय गरी कार्यान्वनका लागि पत्र पठाएको छ । गुम्बा जिल्लाकै सर्वाधिक विकट र दुर क्षेत्रमा रहेको बस्ती हो । गुम्बा पुग्न मार्तडीबाट  साढे तीन दिनको पैदल हिँड्नु पर्ने हुन्छ।

गुम्बा ३० जना मतदाता संख्या छ । गाउँबाट नजिकैको मतदान केन्द्र पुग्न एक दिन बढी पैदल दुरी पर्ने भएकोले मतदान बहिष्कार गर्ने बताउँदै आएका थिए। उनीहरु मध्ये अधिकांशले २०७४ सालको निर्वाचनमा पनि भाग लिएनन्।

आउन जान र मतदानमा भाग लिन गरी तीन दिन खर्चिनु पर्ने, वृद्धवृद्धा र महिलाहरुले बालबालिकालाई साथमा बोकेर लैजान समस्या हुनेभएपछि स्थानीयले मतदानमा भाग लिन पाएका थिएनन् । गुम्बा गाउँमा भोटे जनजाति समुदायको मात्र बसोबास छ । 

निर्वाचन आयोगले अघिल्लो निर्वाचनमै थप गर्ने बताएको थियो । तर संख्या थोरै भन्दै निर्णय गरेको थिएन् । चौतर्फि दबाब र आलोचना भएपछि जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा मतदान स्थल थप गर्ने निर्णय गरेको हो ।

गुम्बामा मतदान स्थल थपिएसँगै जिल्लामा ६९ वटा मतदान केन्द्र र ९४ वटा मतदान स्थल रहने छन्। मत हाल्नका लागि बास बस्नेगरी खानेकुरा बोकेर जानुपर्ने बाध्यता भन्दै गाउँमा मतदान केन्द्र हुनुपर्ने जनताको मागलाई जिल्लाका राजनीतिक दल जिल्ला निर्वाचन कार्यालयको ध्यान जान सकेको थिएन। गाउँको राजनीतिक पहुँच कम भएकाले त्योबेला कसैले सुनिदिएनन् ।

जेठ २६ गते मतदान केन्द्र थप गर्न निर्वाचन आयोगले चिठी पठाइसकेको जिल्ला निर्वाचन अधिकारी शुभद्रा शर्मा गौतमले जानकारी दिईन । पशुपालन र जडिबुटी खेती गर्ने आफ्नै दुनियामा रहेको गुम्बा गाउँले पहिलो पटक मतदानमा भाग लिने भएको छ । केहीले त यस अघिका निर्वाचनमा पनि भाग लिएका थिए, तर सिंगो गाउँले यस पटक मात्र मतदान गर्ने भएका हुन् ।

प्रकाशित: २८ जेष्ठ २०७४ १०:३७ आइतबार

गाउँमै मतदान केन्द्र भएपछि गुम्बावासी हर्षित