राजनीति

सबैलाई समेटेर चुनावमा जुट्न पूर्वराष्ट्रपतिको आग्रह

काठमाडौं- पूर्वराष्ट्रपति रामवरण यादवले मुलुकका सबै पक्ष र समुदायलाई समेटेर निर्वाचनमा जुट्न प्रमुख राजनीतिक दललाई आग्रह गरेका छन्। सागरशमशेर राणाद्वारा लिखित सिंहदरबार पुस्तकको शुक्रबार राजनीतिमा लोकार्पण गर्दै पूर्वराष्ट्रपति यादवले तीनै तहको निर्वाचनले मात्र उपलब्धि संस्थागत गर्ने स्पष्ट पारेका हुन्।

'सबै पक्षलाई समेटेर निर्वाचन सफल बनाउने काम संविधान जारी गर्दाका प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको हो,' उनले भने, 'सबैलाई समेटेर निर्वाचन सफल बनाउनुस्। तीनै तहको निर्वाचनले मात्र संविधानको एउटा चक्र पूरा हुन्छ।'

संविधान जारी भएपछिको २० महिनामा मुलुक अघि बढ्न नसकेको टिप्पणी गर्दै यादवले भने, 'फास्ट र सुपर फास्टट्रयाक होइन, केही समय लिएर संविधान जारी गरौं भन्ने मेरो चाहना थियो तर राजनीतिक दल, सरकार, संविधानसभालाई बुझाउन सकिनँ। देश अहिले पनि त्यहीं अड्किरहेको छ।'

संविधान जारी गर्ने बेलामा केही समय लिएको भए अहिलेको समस्या त्यही बेलामा समाधान हुने उनले दाबी गरे। 'समस्या समाधानका लागि केही समय लिन सकेको भए आज देश जहाँ अड्केको थियो त्यहीं रहने थिएन,' उनले भने, 'हिजो एउटा गल्ती भयो अब फेरि अर्को गल्ती नगरौं।'

सत्ता स्वार्थले संविधान जारी गर्ने बेलामा हडबड भएको सुनाउँदै उनले राजनीतिक दल र तिनका नेतामा जनताको सेवकभन्दा शासक बन्ने महत्वाकांक्षा विगतदेखि वर्तमानसम्म रहेको दाबी गरे।

लोकतान्त्रिक संस्थाबीचको सन्तुलन बिग्रन थालेकोमा चिन्ता व्यक्त गर्दै यादवले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका संयमित हुनुपर्ने बताए। 'लोकतान्त्रिक संस्थाको सन्तुलन बिग्रिएको छ,' उनले भने, 'ती निकायले संयम गुमाउँदै गए भने लोकतान्त्रिक व्यवस्था र निकाय कमजोर हुन्छन्।'

पुस्तक राणा शासनको स्थापनादेखि आन्तरिक विवाद, २००७ सालको क्रान्ति, त्यसपछि पनि सरकारमा राणा सहभागिता र नेपाली कांग्रेसका गतिविधिमा केन्द्रित छ।

प्रकाशित: २७ जेष्ठ २०७४ ०२:११ शनिबार

सबैलाई समेटेर चुनावमा जुट्न पूर्वराष्ट्रपतिको आग्रह