राजनीति

अन्तिम आठमा जावलाखेल र हिमालय शेर्पा

काठमाडौं- जावलाखेल र हिमालय शेर्पा क्लब ललित स्मृति यु–१८ प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान बनाउने अन्तिम दुई टोली भएका छन्। समूह चरणको अन्तिम खेलमा शेर्पाले एनआरटीलाई ६–४ ले हराउँदै समूह 'सी' को उपविजेताको रूपमा क्वार्टरफाइलनमा पुगेको हो। जावलाखेल समूहविजेताका रूपमा अन्तिम आठमा पुग्यो।

जावलाखेल, शेर्पा र लुम्बिनीले समान ६ अंक जोडेका थिए। तर गोलभिन्नताका आधारमा जावलाखेल समूह विजेता र शेर्पा उपविजेता बनेको हो। जावलाखेलले समूह चरणको तीन खेलमा विपक्षीको पोस्टमा १० गोल गरेर ४ गोलको सामना गर्‍यो। शेर्पाले १० गोल गरेर ९ गोलको सामना गर्दा लुम्बिनीले ४ गोल गरेर ४ गोलकै सामना गरेको थियो।

बुधबार शेर्पाको जितमा अविनाश गुरुङले ह्याटि्रक गरे। उनले ३७, ६२ र ६९औं मिनेटमा गोल गरेका थिए। शेर्पाका बेलप्रसाद गुरुङले चार मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए। बेलले २४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। विशाल तामाङले पनि शेर्पाका लागि ३२औं मिनेटमा गोल गरेका थिए। एनआरटीका मनीष पौडेल, सनिस खड्गी, अशोक थापामगरले गोल गरेका थिए। 

यसै गरी समूह 'डी' बाट बाहिरिइसकेका टोलीबीचको खेलमा बिग्रेड ब्वाइजले मोरङ फुटबल क्लबलाई २–० ले हरायो। ब्रिगेडका लागी रोशन न्यौपानेले १५ र रोहित गिरीले ७१औं मिनेटमा गोल गरे।

यसै गरी प्रतियोगिताको निमयविपरीत खेलाडी खेलाएको भन्दै च्यासल युथ क्लबलाई आयोजक अखिल नेपाल फुटबल संघ(एन्फा)ले कारबाही गरेको छ। सरस्वतीले च्यासलविरुद्ध प्रोटेस्ट दर्ता गराएपछि एन्फाले छानबिन गरेर च्यासललाई प्रतियोगिताका लागि अयोग्य घोषणा गरेको थियो। यसै कारण च्यासलको स्थानमा सरस्वतीले क्वार्टरफाइनलमा स्थान बनाउन सफल भयो।

प्रतियोगिताको पहिलो क्वार्टरफाइनलमा एपिएफले फ्रेन्ड्स, आर्मीले सरस्वती, जावलाखेलले संकटासँग खेल्नेछ। पुलिसले हिमालयन शेर्पासँग खेल्नेछ।

प्रकाशित: २५ जेष्ठ २०७४ ०३:२० बिहीबार

अन्तिम आठमा जावलाखेल हिमालय शेर्पा