राजनीति

चुनाव लड्न २१ शिक्षकको राजीनामा

खोटाङ- स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न खोटाङमा २१ शिक्षकले राजीनामा दिएका छन्। निर्वाचनमा गाउँपालिका प्रमुख, वडाध्यक्ष र सदस्य पदमा उठ्न २१ शिक्षकले राजीनामा दिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। राजीनामा दिनेमा ५ मावि शिक्षक, २ निमाबि शिक्षक र १४ प्रावि तहका शिक्षक रहेको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत ठाकुरप्रसाद दाहालले बताए। निर्वाचनमा लड्न दिक्तेल बहुमुखी क्याम्पसका प्राध्यापकले पनि  राजीनामा गरेका छन्।

जिल्ला शिक्षा कार्यालयका अनुसार सीमपानी मावि सीमपानीका राजनप्रसाद ढकाल, माक्पा मावि माक्पाका विश्वनाथ निरौला, सरस्वती मावि डाँडाखर्क सछितापोखरीका केशवराज कार्की, सरस्वती मावि दिक्तेलका गोविन्दप्रसाद आचार्य र शारदा मावि खार्पाका हिमाल गिरीको राजीनामा आएको छ। यस्तै च्यास्मीटार मावि च्यास्मीटारका हरिनारायण यादव र राष्ट्रिय प्रजातन्त्र आधारभूत विद्यालयकी शिक्षक पुष्पकला भुजेलले पनि राजीनामा दिएका छन्। राजीनामा दिने शिक्षकमा सरस्वती प्राविका हरिकुमार राई, हीरा प्रावि महेश्वरीका राजेशकुमार राभण्डारी, जनता मावि बतासेका वसन्त राई र राष्ट्रिय मावि बासपानीका खगेन्द्रबहादुर गुरुङ छन्।

यस्तै निर्वाचनमा उम्मेदवार बन्नका लागि पञ्चकन्या आधारभूत विद्यालय डाँडागाउँका विमल खड्का, शारदा मावि हौंचुरका यज्ञनारायण श्रेष्ठ, चन्द्र प्रावि सुङ्देलका कालिकाप्रसाद रिमाल, डाँडाखर्क प्रावि बराहपोखरीका ढकबहादुर कार्की, कालिका प्रावि बाहुनीडाँडाका राजकुमार कार्की, हिमालय आधारभूत विद्यालय दिक्तेलका रत्नबहादुर कार्की, महेन्द्रोदय मावि याम्खाका दुर्गा राई, हीरा प्रावि महेश्वरीका टीकाराम निरौला, चौतारेडाँडा प्रावि सीमपानीका भरतकुमार राउत र जनता प्रावि दोर्पाचिउरीडाँडाका हरिप्रसाद चौंलागाईले राजीनामा दिएका छन्।

विभिन्न समस्या र बाध्यता देखाउँदै राजीनामा दिए पनि अधिकांश अवकाश लिएका शिक्षक चुनावी मैदानमा उत्रिएका छन्। सीमपानी माविबाट राजीनामा दिएका राजन ढकालले माओवादी केन्द्रका तर्फबाट खोटेहाङ गाउँपालिका प्रमुखमा टिकट पाएका छन्। माक्पा माविबाट राजीनामा दिएका निरौला कांग्रेसका तर्फबाट ऐसेलुखर्क गाउँपालिका प्रमुखमा उठेका छन्। सरस्वती मावि डाँडाखर्कबाट राजीनामा दिएका कार्की र जनता मावि बतासेबाट राजीनामा दिएका शिक्षक राई कांग्रेसबाट दिप्रुङ गाउँपालिका प्रमुखको टिकट दौडमा छन्।

राष्ट्रिय प्रजातन्त्र आधारभूत विद्यालयबाट राजीनामा दिएकी भुजेल एमालेतर्फबाट ऐसेलुखर्क गाउँपालिका उपप्रमुखकी उम्मेदवार हुन्। शारदा मावि हौंचुरबाट राजीनामा दिएका श्रेष्ठले लामीडाँडा गाउँपालिका–६ हौंचरमा एमालेबाट वडाध्यक्षको टिकट पाएका छन्। पञ्चकन्या आधारभूत विद्यालय डाँडागाउँबाट राजीनामा दिएका विमलले एमालेबाट दिप्रुङ गाउँपालिका–५ मा वडाध्यक्षको टिकट हात पारेका छन्। डाँडाखर्क प्राबि बराहपोखरीका शिक्षक ढकबहादुरले कांग्रेसका तर्फबाट बराहपोखरी गाउँपालिका–१ मा वडाध्यक्षको उम्मेदवारी पाएका छन्। जनता प्रावि दोर्पाचिउरीडाँडाका हरिप्रसादले माओवादी केन्द्रका तर्फबाट रुपाकोट मझुवागढी नगरपालिका–७ मा वडाध्यक्षको टिकट पाएका छन्। हीरा प्राविका शिक्षक राजभण्डारी पनि ऐसेलुखर्क गाउँपालिका–३ वडाध्यक्षका उम्मेदवार हुन्।

दिक्तेल बहुमुखी क्याम्पसका प्राध्यापक खेमबहादुर खड्काले पनि स्थानीय तहको निर्वाचनका लागि राजीनामा दिएका छन्। कांग्रेसकातर्फबाट जन्तेढुंगा गाउँपालिकाको प्रमुखमा उम्मेदवारी पाउने भएपछि क्याम्पस छाडेका खड्का प्रचारप्रसारमा व्यस्त छन्।

प्रकाशित: २५ जेष्ठ २०७४ ०२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App