राजनीति

पुनर्निर्माणमा सघाउन विकास साझेदारलाई आग्रह

काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले भूकम्पपछिको पुनर्निर्माण सम्पन्न गर्न थप सहयोगका लागि विकास साझेदार संस्थाहरुलाई आग्रह गरेका छन्।

बेल्जियमको ब्रसेल्समा आयोजित विश्व पुनर्निर्माण सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै सिइओ पोखरेलले विभिन्न ६ क्षेत्रमा अझै पनि तीन खर्बभन्दा बढी रकम अभाव देखिएकाले पुनर्निर्माण अभियानलाई पूर्णता दिन थप सहयोग आवश्यक रहेको बताए।

हाल निजी आवास निर्माणमा ध्यान केन्द्रित भए पनि गरिब तथा विपन्न क्षेत्रका महिलाले धानिरहेका घरधुरीलाई जीविकोपार्जन, रोजगारी सिर्जना आदिमा सहयोग आवश्यक रहेको उनले बताए।

विपत्पछिको पुनर्स्थापनामार्फत बलियो संरचना निर्माण प्रवर्द्धन गर्ने उद्देश्यले विश्व बैंकको विपत्ति न्यूनीकरण तथा पुनर्स्थापनाका लागि विश्व संयन्त्र, युरोपेली युनियन, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम एवं अफ्रिकी, क्यारेबियन तथा प्रशान्त राष्ट्रहरुको समूहले संयुक्तरुपमा सम्मेलन आयोजना गरेका हुन्। मंगलबार सुरु भएको सम्मेलन बिहीबारसम्म चल्नेछ।

सम्बोधनका क्रममा सिइओ पोखरेलले २०७२ वैशाखको भूकम्पपछिका दुई वर्षमा उद्धार तथा पुनर्स्थापनामा भएका सकारात्मक प्रयास तथा कमीकमजोरीलाई उजागर गरेका थिए। उनले तयारी, उद्धार तथा पुनर्स्थापनाका लागि राष्ट्रिय विपत् व्यवस्थापन एजेन्सी आवश्यक रहेको बताए।

उनले सबैभन्दा जोखिममा रहेका विपन्न, अपांगता भएका, एकल महिला, ज्येष्ठ नागरिक, दलित तथा कमजोर वर्गको सहयोगका लागि गरिएका प्रयासबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराए।

प्रकाशित: २५ जेष्ठ २०७४ ०१:४७ बिहीबार

पुनर्निर्माणमा सघाउन विकास साझेदारलाई आग्रह