राजनीति

निर्वाचनपछि संविधान संशोधन : देउवा

काठमाडौं- भावी प्रधानमन्त्रीका लागि एक्ला उम्मेदवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दोस्रो चरणको स्थानीय तह निर्वाचनपछि मात्रै संविधान संशोधन प्रक्रिया अघि बढाउने प्रस्ट पारेका छन्।

प्रधानमन्त्रीका लागि समर्थन खोज्न विभिन्न दललाई गरिएको लिखित पत्राचारमार्फत स्थानीय तहको दोस्रो चरणको निर्वाचनपछि मात्रै संविधान संशोधन गर्ने प्रस्ट्याएका हुन्। देउवाद्वारा हस्ताक्षरित उक्त पत्र 'संविधान संशोधनपछि मात्रै निर्वाचन' भन्ने अडान राख्ने राष्ट्रिय जनता पार्टी नेपालसहित व्यवस्थापिका संसद्भित्रका दलले प्राप्त गरेका छन्।

आलोपालो सहमतिअनुसार देउवाका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएपछि सभामुख ओनसरी घर्ती मगरले नयाँ सरकार गठनका लागि आह्वान गरेलगत्तै देउवाले पत्र लेखेका हुन्। 'स्थानीय तहको प्रथम चरणको निर्वाचन सम्पन्न भइसकेको वर्तमान अवस्थामा अब तोकिएको मितिमा दोस्रो चरणको निर्वाचन गरी संविधान संशोधनलगायत राजनीतिक दलबीच भएको सहमतिलाई कार्यान्वयन गर्दै बाँकी सबै तहको निर्वाचन सम्पन्न गर्नु हाम्रो मुख्य राष्ट्रिय अजेन्डा हुने कुरा स्मरण गराउन चाहन्छु,' देउवाको पत्रमा उल्लेख छ, 'यसै सन्दर्भमा व्यवस्थापिका–संसद्बाट मेरो नेतृत्वमा मन्त्रिपरिषद् गठन गर्न तपाईं र तपाईंको दलका सम्पूर्ण सांसदको समर्थनका लागि हार्दिक अनुरोध गर्छु।'

स्थानीय तहको निर्वाचनपछि मात्रै संविधान संशोधन गर्ने प्रस्ताव देउवाले राखे पनि यसअघि 'संविधान संशोधनपछि मात्रै निर्वाचन' भन्ने अडान राख्दै आएको संघीय समाजवादी फोरम नेपालले उनलाई समर्थन जनाइसकेको छ। 'देउवाको उम्मेदवारी पक्षमा मतदान गर्नेछौं,' समाजवादी फोरमका प्रमुख सचेतक डा. शिवजी यादवले नागरिकसँग भने, 'पहिला प्रचण्डजीलाई मतदान गरेर पनि विपक्षी बेन्चमा बसेका थियौं, यसपालि चाहिं देउवाजीलाई मतदान गरेर सत्तापक्षको बेन्चमा बस्नेछौं।' संघीय फोरमका १५ जना सांसद छन्।

यादवका अनुसार संविधान संशोधन गर्नेबारेमा मौखिक प्रतिबद्धता जनाएकाले देउवालाई मतदान गर्न लागिएको हो। 'जसरी पनि संशोधन गराउँछु भनेर उहाँले प्रतिबद्धता जनाउनुभएको छ, विश्वास लिएका छौं र मतदान गर्दैछौं,' यादवले भने।

देउवाको पत्रप्रति राजपा नेपालले भने औपचारिक प्रतिक्रिया दिएको छैन। राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महत्तोले संविधान संशोधनपछि मात्रै निर्वाचन भन्ने अडान कायमै रहेको बताए। 'संविधान संशोधनपछि मात्रै निर्वाचन भन्ने पूर्व अडान कायमै छ', महतोले नागरिकसँग भने, 'त्यसमा देउवाजीले कस्तो खाले प्रतिक्रिया र प्रतिबद्धता जनाउनुहुन्छ, त्यसै अनुसार राजपाले निर्णय गर्छ।' उनका अनुसार देउवाले वैकल्पिक निकास निकाल्न सके समर्थन गर्न सकिन्छ। मधेस आन्दोलनको मुद्दा सम्बोधन गर्ने सर्तमा लिखित सहमति गरेपछि मात्रै राजपाले देउवालाई समर्थन गर्ने सो दलका सहमहामन्त्री सुरेश मण्डलले बताए।

संविधान संशोधन गर्ने सर्तमा तराई मधेस केन्द्रित दलले यसअघि दुईपटक प्रधानमन्त्रीका उम्मेदवारलाई मतदान गरिसकेका छन्। उनीहरूले पहिलोपटक प्रधानमन्त्रीका लागि कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालालाई समर्थन गरेका थिए। तर, कोइराला पराजित भएका थिए। त्यसपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि सोही सर्तमा मतदान गरेका थिए। दाहालले दुईदुईपटक संशोधन प्रस्ताव संसद्मा लगेर पनि पारित नगराई राजीनामा दिइसकेका छन्।

संविधान संशोधन नगरी निर्वाचन हुन नदिने तराई मधेस केन्द्रित दलको अडानका कारण स्थानीय तह निर्वाचनको मिति चारचारपटक सारिएको छ। वैशाख ३१ गते एकै चरणमा निर्वाचन गर्ने भनिए पनि संशोधन प्रस्ताव पारित गराउन नसकेपछि प्रदेश नं. १, २, ५ र ७ मा दोस्रो चरणअन्तर्गत जेठ ३१ गते मतदान तोकिएको थियो। त्यसपछि असार ९ गते र त्यसमा पनि प्रावधिक समस्या देखिए पछि असार १४ गतेका लागि तोकिएको छ। यो चुनाव गराउने जिम्मा देउवाको काँधमा आउने सम्भावना छ।

प्रकाशित: २३ जेष्ठ २०७४ ०२:२४ मंगलबार

निर्वाचनपछि संविधान संशोधन देउवा