राजनीति

भ्रष्टाचार अभियोगमा पक्राउ शर्मा वीर अस्पतालबाट नर्भिक सरे

वीरको बेडमा मुस्काउँदै शर्मा।

काठमाडौं- भ्रष्टाचार अभियोगमा पक्राउ परेका राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा  वीर अस्पतालबाट नर्भिक सरेका छन्। नर्भिकमा उनलाई इमर्जेन्सीमा भर्ना गरिएको छ। 'उच्च रक्तचापको समस्या रहेछ। डाक्टरको टोलीले चेकजाँच गर्दै गर्दैछ', नर्भिक अस्पताल स्रोतले भन्यो, 'सबै चेकजाँचपछि भन्न सकिन्छ।'

भ्रष्ट्राचार गरी अकुत सम्पत्ति कमाएको अभियोगमा पक्राउ पर्ने अधिकांश 'भिआइपी अभियुक्त' प्रहरी हिरासत छल्न आरामका लागि अस्पताल जाने गर्छन्।

राजस्व छलेर करोडौं भ्रष्ट्राचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेका शर्मालाई विशेष अदालतले ७ दिन हिरासतमा राख्न आदेश दिएको थियो। प्रहरी हिरासतमा रहेका शर्मा स्वास्थ्यमा समस्या आएको भन्दै सोमबार दिउँसो वीर अस्पताल पुगेका थिए। त्यहाँ उनको चेकअप भएको थियो।

त्यहाँ उनका गतिविधि गोप्य गर्न असजिलो हुने देखिएपछि सहयोगीले उनलाई नर्भिक जान सुझाव दिएका थिए। त्यसपछि पक्राउ शर्मा नर्भिक अस्पताल भर्ना हुन पुगेका हुन्। भ्रष्ट्राचार गरी अकुत सम्पत्ति कमाएको अभियोगमा पक्राउ पर्ने अधिकांश 'भिआइपी अभियुक्त' प्रहरी हिरासत छल्न आरामका लागि अस्पताल जाने गर्छन्।

शर्मलाई अख्तियारले गत आइतबार राजस्व निर्धारणमा अनियमितता गरेको आरोपमा कार्यालयबाटै पक्राउ गरेको थियो। अख्तियारले पक्राउ गरेसँगै सचिव हुने क्रममा रहेका विवादास्पद पृष्ठभूमीका शर्मा निलम्बित भइसकेका छन्। आईतवार विशेष अदालत उपस्थित गराइएका शर्माले आफूलाई पक्राउ गर्दा संसदको मानहानी भएको दललील गरेका थिए।

सयवटा भन्दा बढी अनियमितताको उजुरी अख्तियारमा पर्दा समेत करिब ४ वर्ष आन्तरिक राजस्व विभागको महानिर्देशक रहेका शर्माविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन र करछुटको विषयमा दर्जनौ उजुरी छन्। साधारणतया महानिर्देशकको दुई बर्षमा सरुवा हुने भए पनि उनी शक्ति केन्द्र र अर्थमन्त्रीहरुलाई 'रिझाएर' महानिर्देशक पदमा निरन्तर बस्न सफल भएका थिए।

प्रकाशित: २२ जेष्ठ २०७४ ११:३७ सोमबार

भ्रष्टाचार अभियोगमा पक्राउ शर्मा वीर अस्पतालबाट नर्भिक सरे