राजनीति

भरतपुर– १९ मा काँग्रेस-माअाेवादीबीच वडा स्तरीय तालमेल

चितवन—निर्वाचन आयोगले भरतपुर महानगरपालिका– १९ मा पुनःमतदान गर्ने निर्णय गरेसँगै सो वडामा नेपाली काँग्रेसका वडाध्यक्ष र सदस्यका उम्मेदवारलाई नेकपा (माओवादी केन्द्र) ले सघाउने सहमति भएको छ।

दुई दलको अाइतबार बसेको संयुक्त बैठकले यसअघिको सहमतिअनुरुप प्रमुख पदमा माओवादी केन्द्रकी रेणु दाहाललाई र उपप्रमुखमा काँग्रेसकी पार्वती शाहलाई दुवै दलले सर्वाधिक मतदान गरी विजयी गराउने सहमति भएको माओवादी केन्द्र चितवनका इन्चार्ज ईश्वरी भट्टराईले बताए।

निर्वाचन आयोगले भरतपुर महानगरपालिका– १९ मा पुनःमतदान गर्ने निर्णय गरेसँगै सो वडामा नेपाली काँग्रेसका वडाध्यक्ष र सदस्यका उम्मेदवारलाई नेकपा (माओवादी केन्द्र) ले सघाउने सहमति भएको छ।

सो वडामा काँग्रेसका तर्फबाट अध्यक्षमा कर्णबहादुर गुरुङ र माओवादी केन्द्रका तर्फबाट खड्कबहादुर गुरुङ उम्मेदवार रहेका छन्। काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठका अनुसार बैठकले आयोगको निर्णयको स्वागत गर्दै यथाशीघ्र निर्वाचनको मिति तय गर्न माग गरेको छ।

गत आइतबार राति मतगणनास्थलमा गणना हुँदै गर्दा माओवादीका बुथ प्रतिनिधिले मतपत्र च्यातेसँगै मतगणना स्थगन भएको थियो। मतपत्र च्यात्ने कार्यमा संलग्न माओवादीले पुनःमतदानको माग गर्दै अाएको थियो। निर्वाचन आयोगले सो वडाको मतदान केन्द्रको सम्पूर्ण मतपत्र अवैध घोषणा गरी मतदान रद्द गरेको छ।

आयोगले सोही ऐनको दफा ५० को उपदफा ५ बमोजिम मतदान केन्द्रको मतदान हुने स्थान, मिति र समय तोकी पुनःमतदान गर्ने व्यवस्था मिलाउन भरतपुर महानगरपालिका चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ। भरतपुर महानगरमा २९ वटा वडा छन्। तीमध्ये वडा नं १९ को मतगणना हुँदै गर्दा मतपत्र च्यातिएको हो। यससहित वडा नं २० को मात्र मतगणना गर्न बाँकी छ।

दुई वटा वडाको मतगणना गर्न बाँकी रहँदा नेकपा(एमाले)का तर्फबाट प्रमुख पदका उम्मेदवार ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार दाहालभन्दा ७८४ मतले अगाडि रहनुभएको छ। वडा नं १९ मा एक हजार ८०० मत गन्दा यो मतान्तर घटेर ७३३ मा झरेको थियो  सो वडामा काँग्रेसका अध्यक्ष र सदस्यको अग्रता थियो। रासस

 

प्रकाशित: २१ जेष्ठ २०७४ ०९:०९ आइतबार

भरतपुर– १९ काँग्रेस-माअाेवादीबीच वडा स्तरीय तालमेल