राजनीति

रामचन्द्र पौडेलको प्रश्न: केको लागि सरकार ?

काठमाडौं-  नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी बैठकमा प्रधानमन्त्री किन र केका लागि हुने भन्ने प्रश्न गरेका छन्। पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा निकै भावुकरुपमा  प्रस्तुत भएका पौडेलले नेतृत्वको गलत निर्णयका कारण पार्टी पराजीत भएको जिम्मा कसले लिने र पार्टी संगठन कसरी र कसले चलाउने भन्ने प्रश्न गरेका हुन।

कांग्रेसको छवि सुधार्दै लोकतान्त्रिक आचरण र पद्धतिमा पार्टीलाई हिडाउँने कि नहिडाउँने भन्ने अहिलेको चासो र चिन्ताको विषय भएको जनाउँदै पौडेलले बैठकमा भने, ‘पार्टीभित्र गतिशिलता कसरी पैदा गर्ने ? के गरी कार्यकर्तामा उत्साह र जागर पैदा गराउने । के गरी जनतामा आशा र भरोसा जगाउँने त्यसतर्फ हाम्रो ध्यान जानुपर्छ ।’

पार्टीले ठिक समयमा ठिक निर्णय लिन नसक्दा समर्थकहरुले छाड्दै जान थालेको भन्दै नेतृत्वलाई सचेत गराएका थिए । प्रधानमन्त्री निर्वाचनका साथै सरकार गठन र पार्टी सञ्चालनका विषयमा पनि छलफल नभएको भन्दै उनले असन्तुष्टी पनि पोखेका थिए । पहिलो चरणको निर्वाचनले राम्रो सन्देश नदिएको बताउँदै पौडेलले दोस्रो पनि राम्रो हुन नसके के हाल होला भन्नेमा पार्टीको ध्यान जानु पर्ने बताए । अहिलेको सन्दर्भमा पहिलो कुरा त प्रधानमन्त्री किन हुने ? के का लागि हुने ? मलाई सधै पार्टी संगठनको चिन्ता छ,’ उनले भने, ‘कांग्रेसको विकल्प खोज्न थालेको हो कि ? अलिकति गहिरिएर सोच्नु पर्छ । कांग्रेसको विकल्प कांग्रसभित्रै खोज्नु पर्छ । कांग्रेसले सही बाटो लिन्छ भन्ने सन्देश दिनुपर्छ । चुरो कुरा यही हो।’

दाहाल नेतृत्व सरकारमा रहेर पार्टीले फाइदा उठाउन नसकेको धारणा राख्दै पौडेलले जनताको विश्वास जित्न नेतृतवले त्याग गर्नु पर्ने धारणा राखेका थिए । ‘यो बेलामा जनतालाई विश्वास दिलाउने भनेको त्याग देखाउनु पर्छ । त्यागको समय हो यो । दलको नेता आफै हुनुहुन्छ । बहुमत पनि छ,’ पौडेलले भने, ‘प्रचण्डजीलाई यहाँ ल्याएर समर्थन पनि लिनु भएको छ। अब त्यस्तो अवस्थामा तपाईले त्याग गर्नु हुन्छ भन्ने मलाई विश्वास छैन। तपाई त्याग गर्न सक्नु हुन्न भने म नै त्याग गर्छु ।’

पार्टी सभापतिले अब पार्टीलाई एक बनाएर लैजाने हो भने ठूलो छाती बनाएर अगाडि बढ्नु पर्दछ । सिंगो काँग्रेसको नेता र सभापति बन्ने कि नबन्ने भन्दै उनले भने, ‘सुधार तपाईबाटै शुरु हुनुपर्दछ । एउटा ठोस सन्देश जनतालाई दिन आवश्यक छ । यही परम्परागत शैलीमा सरकार बन्ने, फेरिने हो भने मलाई केही भन्नु छैन ।’

आगामी दिन अत्यन्त कठिन रहेको जनाउँदै पौडेलले पार्टी संरचना गठन, नीति तथा कार्यक्रम के कसरी अगाडि जान्छ । सरकार कसरी बन्दछ भन्ने प्रश्न गरेका थिए । ‘यस्तो अवस्थामा अब पार्टीभित्रको कार्यसञ्चालन, सरकार सञ्चालन, पार्टीका  विभिन्न निकायहरु गठन, कुन आधारमा हुने हो ? कुन क्राइटेरियामा हुने हो, कुन मान्यतामा हुने हो ? कुन विधि, पद्धति र आचरणमा हामी हिड्ने हो यो एउटा व्यवहारिक पक्ष छ । यसपछि हामीले के गर्छौ, जनतालाई के सन्देश दिने हो ? धेरै प्रश्नहरु छन्,’ उनले भने।

 

प्रकाशित: २० जेष्ठ २०७४ १४:१५ शनिबार

रामचन्द्र पौडेलको प्रश्न केको लागि सरकार