राजनीति

नेपाली कांग्रेस रोल्पाले तोक्यो उम्मेदवार

रोल्पा- लामो प्रतीक्षापछि नेपाली कांग्रेस रोल्पाले आसन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार हुनेको नाम टुङ्गो लगाएको छ। अकाङ्क्षी धेरै भएपछि उम्मेदवारको टुङ्गो लगाउन नसकेको कांग्रेसले जिल्लाका दशवटै स्थानीय तहमा उम्मेदवार बन्नेको नामनामेसी एकमुष्ट टुङ्गो लगाएको हो। 

पार्टीले जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकामा पूर्वसांसद लेखनाथ आचार्यलाई नगरप्रमुखमा उम्मेदवार बनाउने भएको छ। यसैगरी, नगरपालिकाको उपप्रमुखमा मिश्री हमालले उम्मेदवारी दिने भएका हुन्। सूवर्णावती गाउँपालिकाको अध्यक्षमा शेरबहादुर महरा र उपाध्यक्षमा कविता उपाध्याय छन्। उपाध्यक्षको उम्मेदवार उपाध्याय नेपाल प्रेस युनियन रोल्पाकी अध्यक्ष तथा राष्ट्रिय समाचार समितिमासमेत कार्यरत छन्। लुङ्ग्री गाउँपालिकाको अध्यक्षमा दुर्गाबहादुर खड्का र उपाध्यक्षमा भीमकली बुढाथोकीले उम्मेदवारी दिने भएका छन्। 

यसैगरी, माडी गाउँपालिकाको अध्यक्षमा गोपाल घर्तीमगर र उपाध्यक्षमा गोठी खत्रीलाई उठाउने तयारी भएको छ। सुनछहरी गाउँपालिकामा दुर्गे बुढालाई अध्यक्ष र सरु पुनलाई उपाध्यक्ष, दुईखोली गाउँपालिकाको अध्यक्षमा झक्कुप्रसाद घर्तीमगर र उपाध्यक्षमा लक्ष्मी डाँगी, सकिदह गाउँपालिकाको अध्यक्षमा हरिबहादुर पुन र उपाध्यक्षमा अमृताकुमारी केसीले उम्मेदवारी दिने भएका छन्। 

यसैगरी, त्रिवेणी गाउँपालिकाको अध्यक्षमा कमल बुढा र उपाध्यक्षमा राधिका हमालको उम्मेदवारी पर्ने भएको छ। हमाल चर्चित लोकदोहोरी गायिकासमेत हुन्। रुन्टिगढी गाउँपालिकाको अध्यक्षमा टेकबहादुर बस्नेत, उपाध्यक्षमा सरिता केसी र थवाङ गाउँपालिकाको अध्यक्षमा बमबहादुर रोका र उपाध्यक्षमा श्रीकुमारी रोकाले उम्मेदवारी दिने भएका छन्। 

सो पार्टीले रोल्पा नगरपालिकाका सबै वडाका अध्यक्ष र चारैजना सदस्यको समेत उम्मेदवारी टुङ्गो लगाएको छ। जसअनुसार वडा नं १ को अध्यक्षमा हिराबहादुर पुन, २ मा देउचन थापा, ३ मा राजकुमार पुरी, ४ मा हिरा घले, ५ मा हेमराज डाँगी, ६ मा नरबहादुर खत्री, ७ मा रती कामी, ८ मा खटकबहादुर खत्री ‘तोरावोरा’, ९ मा ओभिराज पुन र १० मा मानबहादुर खत्रीले उम्मेदवारी दिने नेपाली कांग्रेस रोल्पाले जनाएको छ। 

लोकतान्त्रिक पार्टी भएका कारण पार्टीको सबै संरचनाबाट उम्मेदवार छानिँदै आउँदा एवम् जनताको समेत अभिमत लिनुपरेका कारण उम्मेदवार चयनमा केही ढिलाइ भएको पार्टी सभापति अमरसिं पुनमगरले जानकारी दिए। 'ढिलो भएपनि राम्रो भएको छ,' पुनले भने। उम्मेदवार टुङ्गो लगाएसँगै उत्सुकताका साथ कार्यकर्ता चुनावी मैदानमा खटिने पुनले बताए। 

यस पटकको स्थानीय तह निर्वाचनमा काँग्रेसले अधिकांश स्थान जित्ने गरी पार्टी निर्वाचनमा होमिएको उहाँले प्रतिक्रिया दिए। जिल्लामा नेकपा ९एमाले०ले यसअघि नै सम्पूर्ण स्थानको उम्मेदवारी घोषणा गरिसकेको छ भने माओवादी केन्द्रले सुवर्णावती गाउँपालिकामा आकाङ्क्षी धेरै देखिएपछि उम्मेदवारी टुङ्ग्याउन सकेको थिएन । सो पार्टीले समेत मतदान गरी उम्मेदवार टुङ्गो लगाइसकेको बताइएको छ । रासस

प्रकाशित: १९ जेष्ठ २०७४ ०४:२५ शुक्रबार

नेपाली कांग्रेस रोल्पाले तोक्यो उम्मेदवार