राजनीति

समाजवादी मोर्चाको बैठक बस्दै

समाजवादी मोर्चाको बैठक आज बस्दै छ। नेकपा (माओवादी केन्द्र), जनता समाजवादी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपासहित चार दल मिलेर बनेको समाजवादी मोर्चाको बैठक आज अपराह्न ४ः०० बजे बस्ने भएको हो।

बैठक नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने तय भएको छ। आजको बैठकमा मोर्चाले सातै प्रदेशमा गर्न लागेको कार्यक्रमको तयारी र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए।

उनका अनुसार आजकै बैठकमा माओवादी केन्द्रका देव गुरुङ, एकीकृत समाजवादीका प्रमेश हमाल, जसपाका राजेन्द्र श्रेष्ठ र नेकपाका खड्गबहादुर विश्वकर्मासहितको कार्यदलले तयार पारेको प्रस्तावमाथि पनि छलफल हुनेछ।

यही असार २३ गते बसेको मोर्चाको पहिलो बैठकले मोर्चाको उद्देश्य र आवश्यकताबारे जानकारी गराउन सातै प्रदेशमा कार्यक्रम गर्ने निर्णय गरेको थियो। आगामी साउन पहिलो हप्तादेखि सातै प्रदेशमा मोर्चाको औचित्यबारे जानकारी गराउने गरी कार्यक्रम गर्ने तयारी भएको उपाध्यक्ष पाण्डेयले बताए। मोर्चाले यसअघि मोर्चाको कार्यदिशा तय गर्न कार्यदलसमेत गठन गरेको थियो। यही असार ४ गते समाजवादी मोर्चा घोषणा गरिएको थियो। मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ।

प्रकाशित: २७ असार २०८० ०४:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App