राजनीति

पटकपटक निर्वाचन मिति सारिँदा मतदाता अन्योलमा

रौतहट- मधेशवादी दलको आन्दोलन र निर्वाचन मिति सारिँदा जिल्लाका मतदातामा अन्योल देखिएको छ। सरकारले पछिल्ला दुई दिनमा दुई पटक दोस्रो चरणको निर्वाचनको मिति सारेको छ। यसअघि जेठ ३१ गते हुने भनिएको निर्वाचन असार ९ हुँदै असार १४ गते तोकिएको छ। 'आन्दोलन र निर्वाचन मिति सारिँदा निर्वाचनका लागि गाउँमा खटेका पार्टीका कार्यकर्ता र सर्वसाधारणमा अन्योल बढेको छ,' ज्येष्ठ नागरिक संघका जिल्ला अध्यक्ष विजयकिशोर झा भन्छन्।

निर्वाचनको मिति दुई हप्ता धकेलिएपछि मतदातामा अन्योल देखिएको छ। राजपाबाहेक जिल्लामा कार्यरत सबै दल स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार चयनको अन्तिम गृहकार्यमा जुटिरहेका बेला सरकारले निर्वाचनको मिति सारेपछि चुनावी रणनीति बनाउने तयारीमा रहेका दलका कार्यकर्ता अन्योलमा परेका छन्।

निर्वाचन मिति सारिँदा मतदाता र दलका कार्यकर्तामा अन्योल छाएको एमालेबाट गौर नगरपालिकाको मेयरका उम्मेदवार शम्भू शाह बताउँछन्।

केही दिनयता दुई पटक निर्वाचन मिति सारिएकाले तोकिएको मितिमा चुनाव हुने/नहुनेमा मतदातामा आशंका देखिएको छ। मतदातामा चुनाव हुने/नहुनेबारे अन्योलता देखिएको मतदाता शिक्षामा खटिएकी गरुडाकी मालादेवी जयसवालको अनुभव छ।

मधेशवादी दलका कतिपय नेताको दोहोरो चरित्रले मतदातामा अन्योल छाएको समनपुरका दिनदयाल गुप्ताको आरोप छ। 'एकातिर उनीहरू अधिकार नपाएसम्म चुनावको औचित्य नहुने बताउँदै आएका छन् भने अर्कोतिर फलानो दललाई भोट दिनुपर्छ भन्दै हिँडिरहेका छन्,' उनी भन्छन्, 'यसले झन् मतदातालाई अन्योल बनाएको छ।'

निर्वाचनको मिति सारिँदा सर्वसाधारणमा चुनावप्रति अन्योल बढेको गरुडाका स्थानीय पत्रकार राजेश्वर पान्डे बताउँछन्। 'अन्योल हटाउन सरकारले निर्वाचनको ठोस वातावरण बनाउन जरुरी छ,' उनले भने।

सर्वोच्च अदालतले नयाँ थपिएका तथा स्तरोन्नति भएका स्थानीय तहमा झन् अन्योल रहेको स्थानीय नेता बताउँछन्। कांग्रेस, एमाले र एकीकृत माओवादी सन्तुलित ढंगले उम्मेदवार छनोट गरी मतदातालाई  आफ्नो पक्षमा पार्ने कसरतमा लागेका छन्।

प्रकाशित: १८ जेष्ठ २०७४ ०३:१३ बिहीबार

पटकपटक निर्वाचन सारिँदा मतदाता अन्योलमा