राजनीति

अब बहुमतीय सरकार

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको समय सकिएपछि संसद्ले बिहीबारदेखि बहुमतीय सरकार गठन प्रक्रिया सुरु गर्ने भएको छ। सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको सात दिनको समय बुधबार राति १२ बजे सकिएपछि संसद् बैठकले बहुमतीय प्रक्रिया सुरु गर्ने भएको हो।

'सहमतिको सरकार गठनका लागि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई दिएको समय बुधबार राति १२ बजेपछि सकिएको छ'

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले दलीय सहमतिको सरकार गठन हुन नसके बिहीबारदेखि प्रधानमन्त्री निर्वाचनको नयाँ प्रक्रिया सुरु हुने जानकारी दिए। 'सहमतिको सरकार गठनका लागि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई दिएको समय राति १२ बजेपछि सकिएको छ,' अधिकारीले भने, 'विशेष परिस्थितिबाहेक सहमतिका लागि थप समय दिने प्रचलन छैन। त्यसले बिहीबारदेखि प्रधानमन्त्री निर्वाचनको नयाँ प्रक्रिया सुरु हुन्छ।'

संविधानको धारा २९८ को उपधारा (२) अनुसार दलीय सहमतिको सरकार गठन हुन नसकेपछि राष्ट्रपति भण्डारीले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न संसद्लाई पत्र पठाउनेछिन्। राष्ट्रपतिको पत्रसँगै संसद् बैठकले निर्वाचन कार्यतालिका तय गर्नेछ।

संविधानको धारा २९८ र व्यवस्थापिका संसद् नियमावली, २०७३ को दफा ४९ (१) मा सहमतीय सरकार बन्ने व्यवस्था गरिएको छ। यसअन्तर्गत दलीय सहमति कायम हुन नसके के गर्ने भन्नेबारे सोही दफाको उपनियम २ मा उल्लेख छ– 'उपनियम १ बमोजिम सहमति कायम हुन नसके प्रधानमन्त्रीको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुनेछ। त्यसको सूचना महासचिव वा सचिवले प्रकाशन गर्नेछन्।'

संविधानको धारा २९८ को (३) उपधारा (२) बमोजिम सहमति कायम हुन नसके संसद्को तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतका आधारमा प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था छ।

गत वर्ष असारमा कांग्रेस र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार बहुमतीय प्रक्रियाबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित हुनेछन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा सरकार गठनपछि एमालेसहित एक सय ९६ सांसद् रहेको विपक्षी गठबन्धन तथा संविधानप्रति असन्तुष्टि जनाउँदै आएको राजपा नेपाल र संघीय समाजवादी फोरमबाहेकका दलहरूले कांग्रेस नेतृत्वमा सरकार गठनका लागि मौखिक सहमति जनाइसकेका छन्।

कांग्रेस संविधान संशोधन प्रस्तावसमेत पारित गर्ने गरी सरकार गठनमा दुई तिहाइ पुर्‍याउने गरी गृहकार्यमा जुटेको छ। राजपा नेपाल र संघीय समाजवादी फोरमसहित विपक्षी गठबन्धनमा रहेका साना दलहरूलाई पनि सरकारमा सहभागी गराउने गरी आन्तरिक छलफल अघि बढाएको छ।

कांग्रेससँगै भएको पूर्वसहमतिअनुसार दाहालले जेठ १० गते प्रधानमन्त्रीबाट राजीनामा दिएका हुन्। दाहालले राजीनामा गरेपछि राष्ट्रपति भण्डारीले जेठ ११ गते सात दिनको समय दिएर सहमतिको सरकार गठनका लागि संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई आह्वान गरेकी थिइन्।

प्रकाशित: १८ जेष्ठ २०७४ ०२:१० बिहीबार

अब बहुमतीय सरकार