राजनीति

भरतपुरमा च्यातिएका मतपत्रको विवरण पठाउन निर्देशन

काठमाडौं— भरतपुरमा माओवादीका बुथ प्रतिनिधिले मतपत्र च्यातेपछि स्थगित मतगणनाबारे निर्वाचन आयोगले स्पष्ट निर्णय लिन ढिलाई गरेको छ। प्रमुख आयुक्त अयोधीप्रसाद यादबसहित पाँचै जना आयुक्त सम्मिलित बैठकले भरतपुर महानगरपालिकाका प्रमुख निर्वाचन अधिकृतलाई कतिवटा मतपत्र च्यातिएको लेखेर पठाउने निर्देशन दिएको छ।

प्रमुख आयुक्त यादबसहितको बैठकले च्यातिएका मतपत्रको पोको पर्याप्त सुरक्षा तथा उम्मेदवार तथा प्रमुख जिल्ला अधिकारीको रोहबरमा खोलेर तिनको गणना गरी पठाउन निर्देशन दिएको हो।

भरतपुरको मतपत्र च्यातिएको विषयमा छानवीन गर्न आयोगले सोमबार सहन्यायधीवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृहमन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायब महानिरीक्षक केदारमान सिंह भण्डारी सदस्य रहेको छानबिन टोली गठन गरेको थियो।

टोलीले आयोगलाई बुधबार प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा मतदान स्थल माओवादी बुथ प्रतिनिधिले कब्जा गरेको नभई केही मतपत्र च्यातेर अवरुद्ध मात्र पारेको उल्लेख छ। सो प्रतिवेदनपछि निर्णय लिन बसेको प्रमुख आयुक्त यादबसहितको बैठकले च्यातिएका मतपत्रको पोको पर्याप्त सुरक्षा तथा उम्मेदवार तथा प्रमुख जिल्ला अधिकारीको रोहबरमा खोलेर तिनको गणना गरी पठाउन निर्देशन दिएको हो।

भरतपुरको मतगणनाबारे निर्णय लिन दिउसो २:३० बजेदेखि आयोगको बैठक बसे पनि राति ८ बजेसम्म कुनै निष्कर्षमा पुग्न नसकेपछि च्यातिएका मतपत्रको संख्या पठाउने निर्णयमा पुगेको हो। बैठकमा प्रमुख आयुक्त अयोधीप्रसाद यादबले भरतपुर वडा नं.१९ मा पुनःमतदान गराउने प्रस्ताव राखेको भन्ने चर्चा चलेको थियो। प्रमुख आयुक्त यादबले बैठकमा आफूले त्यस्तो प्रस्ताव नराखेको नागरिकन्युजलाई बताए।

माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्री रेणु दाहाल उम्मेदर रहेको भरतपुर महानगरपालिका १९ को मतगणना भइरहँदा उनकै पार्टीका बुथ प्रतिनिधिले आइतबार मध्यराति मतपत्र च्यातेका थिए। घटनास्थलमा रहेका चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले पाँच वटा मतपत्र च्यातिएको बताउँदै आएका छन्।

आफू बाथरुम गएकाले घटनामा संलग्न नदेखेको बताउने मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले आइतबार मध्यरातदेखि मतगणना स्थगित गरेका थिए। मतपत्र च्यात्ने माओवादी बुथ प्रतिनिधि मधु न्यौपाने र द्रोणबाबु सिवाकोटी चितवन प्रहरी हिरासतमै छन्।

भरतपुर महानगरपालिकाका एमाले मेयर प्रत्यासी देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल भन्दा ७ सयभन्दा बढी मतले अगाडि रहेको अवस्थामा माओवादी कार्यकर्ताले मतपत्र च्यातेका थिए।

घटनाको प्रकृति केलाउँदै प्रमुख प्रतिपक्षी एमालेले योजनाबद्ध रुपमा सत्ता पक्षले भरतपुरमा पुनःमतदान गराउने षड्यन्त्र गरी घटना गराएको आरोप लगाउँदै आएको छ।

मतपत्र च्यात्ने कार्यमा संलग्न सत्तारुढ माओवादी केन्द्रले वडा नं.१९ पुनःमतणनाको माग गर्दै आएको छ। शक्तिको दुरुपयोग गरी सत्तापक्षले भरतपुरमा षड्यन्त्रपूर्वक मतगणना रोकेको भन्दै एमालेले बिहीबार चितवन बन्द आह्वान गरेको छ।
 

भरतपुरमा च्यातिएका मतपत्रको विवरण पठाउन निर्देशन