राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय उपसभापति डोलप्रसाद अर्यालले रास्वपा कसैको पछि लागेर नहिँडेको बताएका छन्। पार्टी आफ्ना एजेण्डा र आफ्नै नीतिमा अगाडी बढेको बताउँदै उनले प्रतिनिधिसभामा आफुहरुको संख्या सानो भएकाले त्यस्तो देखिएको हुन सक्ने बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा एमालेको पछि लागेर हिंडेको आरोपको खण्डन गर्दै नेता अर्यालले एमालेको संख्या ठुलो भएकाले त्यस्तो देखिएको भएपनी यो सत्य नभएको बताए।
‘हामी आफ्नै नीति र सिद्धान्तमा अघी बढेका छौं, उनले भने, ‘कसैको पछि लागेर रास्वपा हिंड्दैन, रास्वपाको संख्या थोरै भएकाले त्यस्तो देखिएको हुनसक्छ।’
प्रतिनिधि सभाका सांसद समेत रहेका अर्यालले महत्त्वपूर्ण विधेयक पारित गर्ने दिन संसद् अवरोध हुनु दुखद भएको बताए। आफुहरु मिटरब्याज सम्बन्धी विधेयक पारित हुनुपर्छ भन्ने पक्षमा रहेको भएपनी उल्टो भाष्य निर्माण गरिएको उनको भनाई छ।
अर्यालले रास्वपाले कुनै पनि निर्वाचनमा चुनावी तालमेल नगर्ने पनि बताएका छन्। निर्वाचन जित्नकै लागी र सिट बढाउनका लागी आफुहरुले कुनैपनि निर्वाचनमा कुनैपनि दलसँग तालमेल नगर्ने स्पष्ट पारेका छन्। यद्यपि निर्वाचन पश्चात् सरकार गठन गर्दा आवश्यक परे तालमेल हुनसक्ने उनले बताए।
‘देशलाई अनिर्णयको बन्दी बनाउन हुँदैन, उनले भने, ‘सरकार निर्माणको लागि बहुमत ल्याउन अप्ठ्यारो परेको खण्डमा सहकार्य गर्न सकिन्छ।’
वर्तमान सरकारले गरेका राम्रा काममा आफुहरुको सधैँ समर्थन रहने भन्दै उनले राम्रो काम गर्दा सरकार ढल्ने अवस्था आयो भने आफुहरु काँध थाप्न तयार रहेको बताए। तर, सरकारले एक–दुई ओटा फाइल पल्टाएजस्तो गरेर सरकार बचाउने तर्फ मात्र ध्यान केन्द्रित गरे त्यो प्रति उत्पादक हुने उनको भनाई छ।
सामाजिक संजाल र सञ्चार माध्यमको चौतर्फी हमलाका बावजुत पनि रास्वपा नडगमगाएको उनले बताए। भर्खर एक वर्षको पार्टीलाई सबै मिलेर निमोठ्न खोजेको भन्दै उनले जनताको साथ रहेसम्म आफुहरु दृढताका साथ उभिने बताए। अहिलेको अधिकांश मत पुराना दलप्रतिको वितृष्णा रहेको स्विकार्दै उपसभापति अर्यालले अब रास्वपा दह्रो भएर उभिने उनको भनाई छ।
उनले देशमा भ्रष्टाचारको अन्त्य गरी सुशासन र विकासको जग बसाल्न रास्वपाको आवश्यकता रहेको जिकिर गरे। पुराना दलहरू पुरानै शैलीमा हिंडिरहेको भन्दै उनले रास्वपा नयाँ ढंगले अगाडी बढ्नेमा दृढ रहेको बताए।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अर्जुन अधिकारी, लुम्बिनी प्रदेशका सभापति देवराज पाठक, उपसभापति शालिकराम घिमिरे, प्रदेश इन्चार्ज गणेश पौडेल, प्रदेश महामन्त्री निलराज अधिकारी, विनय घिमिरे, जिल्ला संयोजक हरि प्रसाद भुसाल, उपसंयोजक दिनेश विकल्प लगायतको उपस्थिति रहेको थियो।
प्रकाशित: २५ असार २०८० ०८:२५ सोमबार