राजनीति

सरकारलाई डा. केसीको चौबीस घण्टे अल्टिमेटम

दाङ-  एघारौँ सत्याग्रहका लागि दाङ आएका डा. गोविन्द केसीले सरकारलाई माग सम्बोधनका लागि पुनः २४ घण्टे अल्टिमेटम दिएका छन्। आईतवार देखि सत्याग्रह सुरु गर्ने तयारी गरिरहेका बेला स्वास्थ्य मन्त्री गगनकुमार थापाको आग्रहमा केसीले २४ घण्टे अल्टिमेटम दिँदै सोमवार दिउँसो ४ बजे सम्मका लागि सत्याग्रह रोकेका हुन्। उनले सोमवार दिउँसो चार बजे सम्म माग सम्वोधन नभए त्यसपछि नकुर्ने पत्रकारहरुलाई जानकारी दिए। ‘मैले अरु २४ घण्टा सम्मको समय कुर्न सक्छु,’उनले भने ‘यदि सोमबार चार बजे सम्म माग सुनुवाई भएन भने मैले थप समय कुनै पनि हालतमा दिन सक्ने छैन।’

एकीकृत चिकित्सा शिक्षा बिधेयक तुरुन्त पास हुनुपर्ने, प्रधानन्यायाधिस सुशीला कार्की माथि लगाईएको महाअभियोगको प्रस्ताव फिर्ता लिईनु पर्ने , प्रत्यक प्रदेशमा एक सरकारी मेडिकल कलेज खोल्ने पूर्व सहमती अनुसार दाङमा मेडिकल कलेज स्थापनाको प्रकृया तत्काल थालिनु पर्ने भन्दै डा. केसी सत्याग्रहका लागि दाङ आएका हुन् । उनले यी सबै मागलाई सोमवार दिउँसो चार बजे सम्म सम्बोधन गरिनु पर्ने अडान सरकार समक्ष राखेका छन् । प्रधानन्यायाधीस कार्कि बिरुद्ध लगाईएको महाअभियोगको प्रस्ताव फिर्ता लिने दलीय सहमती भएपनि सोमवारै संसदबाट उक्त प्रस्ताव फिर्ता लिनु पर्ने अडान राखेका छन्।

प्रकाशित: १४ जेष्ठ २०७४ १२:४० आइतबार

सरकारलाई डा. केसीको चौबीस घण्टे अल्टिमेटम