राजनीति

संसद् चलाउन सरकार जिम्मेवार देखिएन: योगेश भट्टराई

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सरकार संसदीय समिति र संसद् चलाउन गम्भीर नभएको आरोप लगाएका छन्।

आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले संसद् चलाउने, समितिहरु चलाउने, सन्दर्भमा सरकार जिम्मेवार नदेखिएको बताए। उनले पछिल्ला ६ महिनाभित्र बसेका ४१ वटा संसद्का बैठकमा प्रभावकारी नतिजा आउन नसकेको उल्लेख गरे। उनले समितिको नेतृत्व चयन गर्न नसक्नु सरकारको कमजोरी भएको बताए।

उनले भने, ‘संसद् चलाउने, समितिहरु चलाउने, सन्दर्भमा सत्ता पक्षको, सरकार जिम्मेवार देखिँदैन। संसद् पनि राम्रोसँग चलिरहेको छैन, यो ६ महिनामा। ४१ वटा बैठक भए यसको प्रभावकारी नतिजा छैन। संसद्को बिजनेस सरकारले नै बनाउने हो, तर सरकारले प्रभावकारी ढंगले बिजनेस दिन सकेको छैन, बजेट, नीति ल्याउनु बिजनेस होइन, नियमित काम हो। समितिहरु भनेको सरकारलाई चेक एण्ड ब्यालेन्स गर्ने संसद्का अंग हुन्, यी समिति नचलोस्, प्रभावहीन होस् भन्ने सरकारको चाहना देखिन्छ, किनभने अहिलेसम्म नेतृत्व छनोट गर्न नसक्नु, यसमा कमजोरी भएको छ। समितिले दिएका निर्देशनहरु नेपाल सरकार र सरकारका निकायहरुले बिना सर्त कार्यान्वयन गर्नुपर्छ, जटिलता छ भने समितिमा आएर बताउनु पर्छ।’

सांसद भट्टराईले संसदीय समितिले दिएका निर्देशनहरु सरकार र सरकारका निकायहरुले बिना सर्त कार्यान्वयन गर्नुपर्ने बताए।

प्रकाशित: २४ असार २०८० ०९:२१ आइतबार

योगेश भट्टराई