राजनीति

काठमाडाैँका नवनिर्वाचित मेयर भन्छन्, 'तपाईंहरुको विश्वास र भरोसालाई मर्न दिने छैन'

काठमाडौँ – काठमाडौँ महानगरपालिका प्रमुखमा नवनिर्वाचित विद्यासुन्दर शाक्यले आफूले मतदाताको आशा, विश्वास र भरोसालाई मर्न नदिने बताएका छन् ।
 
कामपा प्रमुखमा निर्वाचित भएपछि आइतबार विज्ञप्ति जारी गरी उनले आफूप्रति आशा, विश्वास र भरोसाका साथ दिइएको गहन जिम्मेवारी पूरा गर्न दिनरात नभनी खट्ने प्रतिबद्धता व्यक्त गरे।
 
उनले आफूलाई मतदान गर्ने मतदाता र समर्थन गर्नेहरुलाई धन्यवाद व्यक्त गर्दै सो पदमा योग्य ठान्ने आफ्नो पार्टी नेकपा एमाले, पार्टी कार्यकर्ता, शुभचिन्तक एवम् सबै नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा पनि कृतज्ञता ज्ञापन गरेका छन्।
 
विज्ञप्तिमा निर्वाचनका क्रममा प्रत्यक्ष वा परोक्ष रुपमा अहोरात्र खट्ने पार्टी नेतृत्व, विभिन्न जनवर्गीय सङ्गठनका नेता–कार्यकर्ता, महानगरवासी, उद्योगी–व्यवसायी, सञ्चारकर्मीलगायतलाई स्मरण गरिएको छ । 

उनले निर्वाचनका क्रममा मात्र होइन मतगणनास्थलमा समेत अहोरात्र खटेर सुरक्षा प्रदान गर्ने सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारी सबैले आआफ्नो ठाउँबाट गरेको योगदानप्रति सम्मान व्यक्त गरेका छन् । 

प्रकाशित: १४ जेष्ठ २०७४ ०६:०१ आइतबार

काठमाडाैँका नवनिर्वाचित मेयर भन्छन् तपाईंहरुको विश्वास भरोसालाई मर्न दिने छैन