राजनीति

राष्ट्रपति/उपराष्ट्रपतिकै सन्तति सुशोभित

तस्बिर : रासस

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नवौं गणतन्त्र दिवसको अवसरमा शुक्रबार आफ्ना तथा उपराष्ट्रपतिका परिवारका सदस्यसहित २ सय ५८ जनालाई सुशोभित गरेकी छन् । 

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले नेकपा एमालेका तत्कालीन महासचिव एवं आफ्ना पति मदन भण्डारीलाई मणरोपरान्त नेपाल रत्न विभूषण प्रदान गरिन् । सो विभूषण भण्डारीका छोरीद्वय उषाकिरण भण्डारी र निसाकुसुम भण्डारीले ग्रहण गरे ।

त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशकुमार पुनलाई समेत जनसेवाश्री पदकले विभूषित गरिएको छ । पुनले आफ्नो फेसबुक पेजमा सुशोभनका लागि उपस्थित हुन गृह मन्त्रालयले पठाएको पत्रको तस्बिर राखेका छन् । 

विभूषण, तक्मा तथा पदक वितरणको स्पष्ट मापदण्ड नभएको नेपालमा आफू निकटका व्यक्ति तथा परिवारका सदस्यलाई प्रदान गर्ने चलन लामो समयदेखिको हो । पञ्चायतदेखि प्रजातन्त्र कालसम्म राजपरिवारका सदस्यलाई प्राथमिकताका साथ विभिन्न विभूषण प्रदान गरिन्थ्योे । 

त्यसैगरी पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त राष्ट्र गौरव विभूषण प्रदान गरिएको छ । संविधानसभा पूर्वअध्यक्ष सुवास नेम्बाङ, पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा (मरणोपरान्त), ऊर्जामन्त्री जनार्दन शर्मा, सर्वोच्च अदालतमा पूर्वन्यायाधीश वैद्यनाथ उपाध्याप, प्रधानसेनापति राजेन्द्र क्षत्री र मुख्यसचिव सोमलाल सुदेवीलाई पनि विभिन्न विभूषण प्रदान गरिएको छ ।

 

प्रकाशित: १३ जेष्ठ २०७४ ०१:३९ शनिबार

राष्ट्रपति/उपराष्ट्रपतिकै सन्तति सुशोभित