राजनीति

एमाले गढमा कांग्रेसको दुई गाउँपालिका

दोलखा – एमाले गढ मानिने दोलखामा कांग्रेसले मुस्किलले दुई ओटा गाउँपालिका प्रमुख जितेको छ । 

आफ्नो किल्लामा वर्चस्व कायम राख्दै ९ गाउँपालिका मध्ये सात स्थानका प्रमुख एमाले आफैँले जितेको छ । 

पञ्चायत कालदेखिको संगठन र बहुदलकाल यताका प्राय निर्वाचनमा वर्चस्व राख्दै आएको एमालेका आधार क्षेत्र दुई गाउँपालिकामा भने कांग्रेसले माओवादी केन्द्रसँग मिलेर नेतृत्व आफ्नो पक्षमा ल्यायो । 

माओवादीले प्रमुख पदमा एक सिट पनि जित्न सकेन् । ७४ ओटा वडा मध्ये एमालेले ४३ वडामा वडाध्यक्ष सहित आफ्नो वर्चस्व राखेको छ । कांग्रेसले २० ओटा वडामा अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले १० ओटा वडामा चित्त बुझाएको छ ।  

कांग्रेसले विगु गाउँपालिका प्रमुख जितेको छ । सो पदमा कांग्रेसका युधिष्ठीर खड्का विजयी भएका छन् । यस अघि राजनीति भन्दा बिल्कुल बाहिर निर्माण व्यवसाय क्षेत्रमा रहेका उनलाई कां्रग्रेसले टिकट दिएर प्रमुख पदमा लडाएको हो । उपप्रमुखमा माओवादी केन्द्रका सञ्जिव ओलीले जितेका छन् । ८ ओटा वडा रहेको पालिकामा एमालेले आलम्पुमा एउटा मात्र वडाध्यक्ष जितेको छ । ४ माओवादी र ३ वडाध्यक्ष कांग्रेसले जितेका छ । यो पूर्व जिविस सभापति एवं एमाले नेता लालकुमार केसीको गृहपालिका हो । 

उता वैत्येश्वर गाउँपालिका प्रमुखमा कांग्रेस क्षेत्र नं १ का सभापति छवि लामाल विजयी भए । उपप्रमुख माओवादी केन्द्रका रविचन्द्र आचार्यले जिते । ८ वडा मध्ये कांग्रेसले ४, एमाले ३ र माओवादी केन्द्रले एक ओटामा वडाध्यक्ष जिते । यो एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाईको गृहपालिका हो ।  
 
एमालेले आफ्नो किल्लाका दुई गाउँपालिका गुमाउदै बाँकी सबैमा भने विजयको झण्डा फहराएको छ । 

बिहीबार बिहान मेलुङ गाउँपालिकाको मतगणना सकिएसँगै एमाले जिल्लाका ९ मध्ये ७ स्थानमा विजयी भएको हो । मेलुङ १, पवटीमा गत वैशाख ३१ गते निर्वाचनको दिन प्रहरीको गोली लागेर स्थानीयको मृत्युको घटनापछि स्थगित भएको चुनाव ७ गते गराइएको थियो । उक्त चुनाव सम्पन्न भए लगतैदेखि शुरु भएको मतगणनाको बिहीबार बिहान प्राप्त मत परिणाम अनुसार एमालेका नरबहादुर श्रेष्ठले कडा टक्करका बीच कांग्रेस उम्मेदवार बर्मा लामालाई हराए । ८९ मतको अन्तरले लामा पराजित भएको निर्वाचन कार्यालयले जनाएको छ । 

मेलुङको परिणामसँगै एमालेले दुई नगरपालिका र ५ गाउँपालिकामा जित हात पारेको छ । जिल्ला प्रवेशद्वार खरिढुङ्गा देखि सदरमुकाम चरिकोट हुँदै दोलखा बजार, सुष्पा क्षमावती र तामाकोशी नयाँपुल बजारसम्म फैलिएको भीमेश्वर नगरपालिमा एमालेका भरत केसी मेयर बनेका छन् । यहाँ कांग्रेसका ईश्वरनारायण मानन्धरलाई केसीले १ हजार ३८ मतको अन्तरले चुनाव हराउँदै मेयर बनेका हुन् । ९ ओटा वडा मध्ये दुई ओटा कांग्रेस र ७ ओटामा एमालेले अध्यक्ष जितेको छ । 

जिरी नगरपालिकामा एमालेका टंक जिरेल मेयर बने । उनले माओवादी केन्द्रका गेल्बु शेर्पालाई हराए । यस अघि कांग्रेसको जिरी नगर सभापति रहेका जिरेल चुनावको महिना दिन अघि मात्र एमाले प्रवेश गरेका थिए । २०७० सालको संविधान सभा निर्वाचनमा कांग्रेस यो नगरबाट पहिलो बनेको थियो । यहाँ कांग्रेस एमाले र माओवादी एक्ला एक्लै चुनाव लडेका थिए । यस पटकको चुनावमा कांग्रेस तेश्रो स्थानमा खुम्चीएको छ । ९ वडा मध्ये कांग्रेसले १, माओवादी २ र एमालेले ६ ओटा वडाध्यक्ष जिते । 

उता गौरीशंकर गाउँपालिकामा एमालेका स्वयंबहादुर खड्का विजयी भए । यो गाउँपालिका एमाले सांसद पार्वत गुरुङ, कांग्रेस जिल्ला सभापति रुद्रबहादुर खड्का, माओवादी केन्द्रिय सदस्यहरु देवी खड्का, गंगा कार्की र जिल्ला अध्यक्ष विशाल खड्काको गृह पालिका हो । यहाँ कांग्रेस र माओवादी बिच तालमेल थियो । ९ वडा मध्ये कांग्रेस १, एमाले ६ र माओवादीले २ वडामा वडाध्यक्ष जिते । 

कालिञ्चोक गाउँमा एमालेका विनकुमार थामी प्रमुख थिए । यहा समेत माओवादी कांग्रेस तालमेल थियो । कांग्रेसले २, एमाले ६ र माओवादीले एउटा वडा जिते । मेलुङमा समेत कांग्रेस माओवादी तालमेल थियो । 

तामाकोशी गाउँपालिकामा एमाले जिल्ला अध्यक्ष ईश्वर पोखरसेल आफै प्रमुखमा विजयी भए । यहाँ वडा स्तर सम्म कांग्रेस माओवादीबीच तालमेल थियो । कांग्रेसले ३  र एमालेले ४ ओटा वडा जितेको छ । शैलुङ गाउँपालिकामा एमालेका भरत दुलाल विजयी भए । यहाँ भने तिनै दल एक्ला एक्लै चुनाव लडेका थिए । कांग्रेसले २ र एमालेले ६ वटा वडामा वडाध्यक्षको जित हात पार्याे । 

प्रकाशित: ११ जेष्ठ २०७४ ०९:२४ बिहीबार

एमाले गढमा कांग्रेसको दुई गाउँपालिका