राजनीति

स्थानीय तहको फेरबदलले अन्योल

रौतहट – चुनाव प्रचारमा लागिसकेका कार्यकर्ता तथा नेताहरु स्थानीय तह फेर वदलले अन्योलमा परेका छन् । उमेदवारी दर्ता गर्ने समयमा जिल्लाको संरचनामा परिवर्तन भएपछि नेता कार्यकर्ता अन्योलमा परेका हुन् ।

सरकारले रौतहटको विद्यमान ३ नगरपालिका र १३ गाउँपालिकालाई १५ नगरपालिका र ३ गाउँपालिकाको नयाँ संरचना परिवर्तन गरेपछि जिल्लामा अन्योलको वातावरण देखिएको हो । वडा, गाउँ र नगर परिवर्तनले स्थानीय अन्योलमा परेका हुन्।

सरकारले नगरपालिका थपको निर्णय गरे पनि वडासहितको तथ्यांक सार्वजनिक नगर्दा अन्योल बढेको छ । ‘धेरै उम्मेदवारलाई अाफू कुन तहमा पर्ने नै यकिन छैन,’ संघीय समाजवादी फोरम नेपालका मधेस प्रदेश सदस्य बृजकिशोर यादवले भने ।

‘घोषणा अनुरूपको स्थानीय तह परिवर्तनको परिपत्र कहिँ कतै आएको छैन । न त कुनै सञ्चार माध्यममा यस सम्बन्धि तथ्यांक आएको छ,’ राजपा नेपालका सह–महासचिव अजय गुप्ताले भने, ‘घोषणाले दल, नेता, कार्यकर्ता सबै अन्योलमा छन्।’ 

मधेसवादी दलका असन्तुष्टिलाई सम्बोधन गर्न सरकारले स्थानीय तहको संख्या थप गर्नु सकारात्मक भए पनि दल र निर्वाचन आयोगलाई चुनौती थपिएको पत्रकार चन्द्रकिशोर झाले बताए । नयाँ घोषणाले सर्वसाधारण, दलका कार्यकर्ता र नेतादेखी उमेदवारसम्म अन्योलमा परेको बताउँदै पत्रकार झाले बताए ।

प्रकाशित: १० जेष्ठ २०७४ ०३:०१ बुधबार

स्थानीय तहको फेरबदलले अन्योल