राजनीति

रासायनिक मल खरिद ऐन संशोधन गर्नुपर्छः मन्त्री भुसाल

कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले रासायनिक मल खरिद ऐन र खरिद नियमावली संशोधन गर्न आवश्यक रहेको बताएका छन्।

बिहीबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले रासायनिक मल खरिद प्रक्रियाको टेण्डर ४५ दिन रहेकोमा अब १५ दिन राख्नेगरी मन्त्रालयले प्रश्ताव अघि बढाएको बताए।

उनले जिटुजी प्रक्रियाबाट नै मल खरिद गर्नुपर्ने र जिटुजीका लागि बजेटको अग्रिम सुनिश्चिततालाई जोड दिन आवश्यक रहेको बताए। उनले छोटो समयमा नै मल खरिद गरी समयमा नै किसानलाई आपूर्ति गर्ने व्यवस्था गर्नुपर्ने बताए।

उनले भने, ‘४५ दिनको टेण्डरको जुन समय छ, १५ दिन प्रश्तावित गरौँ भनेका छौँ। यसमा तपाईहरुले सहयोग गर्नुपर्नेछ। त्यसमा मान्यज्युहरुको सहयोग चाहिन्छ, छोटो बनाउनको लागि। तदनुरुप नियमावलीमा पनि संशोधन गरौँ भन्ने हाम्रो प्रश्ताव छ, हामीले औपचारिक रुपमा प्रश्ताव मन्त्रालयबाट अघि बढाइसकेका छौँ।

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकबाट नै एउटा के निर्णय गरेका छौँ भने नियमित गर्नका लागि जिटुजीमा नै जानुपर्छ। जिटुजीमा जानका लागि बजेटको अग्रिम सुनिश्चितता हुनुपर्छ। यो भएमात्रै तदनुरुप मागको आँकलन गरेर बजेट खरिदका लागि सुननिश्चित हुनुपर्छ। खरिद ऐन र खरिद नियमावलीमा संशोधन, जिटुजी प्रक्रियाबाट नै जाउँ, बजेटको सुनिश्चित गरी प्रक्रियालाई छोटो गराइ समयमा नै खरिद गरौँ र आपूर्तिको व्यवस्था गरौँ।’

मन्त्री भुसालले रासायनिक मलमा मात्रै निर्भर नभइ प्राङ्गारिक र जैविक मलमा निर्भर हुनेकुरामा जोड दिन आवश्यक रहेको बताए।

प्रकाशित: २१ असार २०८० ०९:१४ बिहीबार

कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाल