राजनीति

चुनावबारे रजपा अनिर्णीत

काठमाडौं –सरकारले राष्ट्रिय जनता पार्टी नेपालको माग सम्बोधन गर्न मधेसमा २२ वटा स्थानीय तहको संख्या बढाउने निर्णय गरे पनि राजपा भने चुनावमा जाने या नजाने विषयमा अझै अनिर्णीत रहेको छ ।

चुनावमा जाने या नजानेबारेमा निर्णय गर्न मंगलबार राजपासहित संघीय गठबन्धनको बैठक बस्ने भनिए पनि बस्न सकेन । राजपा अध्यक्ष मण्डलका सदस्यहरूले आन्तरिक रूपमा अनौपचारिक छलफल भने गरेका थिए  ।   

बुधबार दिउसो राजपाका अध्यक्ष मण्डलका सदस्यहरूको सदस्यको बैठक बस्ने सदस्य मण्डलका सदस्य अनिल झाले जानकारी दिए । बैठकमा चुनावमा जाने या नजाने बारेमा  छलफल हुने उनले बताए ।

स्रोतका अनुसार स्थानीय तहको संख्या बढाएपछि चुनावमा जाने कि नजाने भन्नेबारेमा राजपाका अध्यक्ष मण्डलका सदस्यहरूबीचमै विवाद उत्पन्न भएको छ । विवादकै कारण राजपाले मंगलबार औपचारिक निर्णय गर्न नसकेको हो । बुधबार पनि औपचारिक निर्णय गर्ने सम्भावना बलियो नभएको स्रोतको भनाइ छ ।

राजपाका अध्यक्ष मण्डलका सदस्यहरूमध्ये महेन्द्र यादव र शरदसिंह भण्डारी चुनावमा जानुपर्ने पक्षमा छन् भने राजेन्द्र महतो र राजकिशोर यादव संविधान संशोधन नभई चुनावमा जान नहुने अडानमा छन् । राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले भने  प्रस्ट लाइन लिएका छैनन् । स्रोतका अनुसार जुन कुरामा सहमति हुन्छ, उनी त्यही मान्न तयार छन् । 

राजपाका दोस्रो तहका नेता केशव झा सरकारले मधेसमा २२ वटा स्थानीय तहको संख्या बढाएपछि पार्टी चुनावमा जानुपर्ने बताउँछन् । 

स्रोतका अनुसार राजपाका अध्यक्ष मण्डलका अर्का सदस्य अनिल झा पनि चुनावप्रति सकारात्मक छन् । अर्का नेता महेन्द्र यादवले यसअघि नै मधेसमा स्थानीय तहको संख्या बढाएमा पार्टी चुनावमा जाने बताउँदै आएका छन् । 

स्रोतका अनुसार राजपाले चुनावमा नजाने भए आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएको छ । पार्टीले आन्दोलनको रूपरेखा तयार गरीसकेको छ । पार्टी चुनावमा नगए चुनाव बिथोल्ने गरी बन्दका कार्यक्रमका तय भएको छ । गत सोमबार आन्दोलनको रूपरेखा तयार गर्ने भनिएको थियो तर प्रधानमन्त्री पुष्पकमल दाहालले राजपाका अध्यक्ष मण्डलका सदस्यहरूलाई फोन गरी सरकारले मधेसमा स्थानीय तहको संख्या बढाउने तयारी गरेको बताएका थिए । उनले आन्दोलनका कार्यक्रम सार्वजनिक नगर्न पनि अध्यक्ष मण्डलका सदस्यहरूलाई आग्रह गरेका थिए । 

राजपाले पहिलो चरणको चुनाव बहिष्कार गरे पनि चुनाव अवरोध हुने गरी कुनै कार्यक्रम गरेको थिएन ।  

अध्यक्ष मण्डलका सदस्य अनिल झाले भने, ‘जनताले जे भन्छन्, हामी त्यही गर्छौं । जनताले हाम्रो माग पूरा नभएसम्म चुनावमा नजाऔं भनेका छन्,’ उनले भने ।

फोरम नेपालले चुनावमा जाने निर्णय गरेपछि राजपालाई पनि चुनावमा जान दबाब परेको छ । केही दिनअघि सरकारमा गएका फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले पनि राजपालाई चुनावमा जान आग्रह गरेका छन् । 

प्रकाशित: १० जेष्ठ २०७४ ०२:४५ बुधबार

चुनावबारे रजपा अनिर्णीत