राजनीति

एमालेको विरोधपछि आज पनि राष्ट्रियसभा अवरुद्ध

फाइल तस्बिर

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिहीबार पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ।आज दिउँसो १ बजे बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरु सिटबाट उठेर विरोध जनाएका थिए।

बैठकमा एमाले सांसद भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिएसम्म सदन चल्न नदिने बताए।

एमाले सांसदको विरोधपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्रीलाई सभामा आएर जवाफ दिने वातावरण बनाउन आग्रह गरेका थिए।

तर, एमाले सांसदहरूले निरन्तर विरोध जनाएपछि उनले बैठक स्थगित गरे। राष्ट्रियसभाको अर्को बैठक शुक्रबार दिउँसो १२ बजेर २९ मिनेटमा बस्ने गरी बोलाइएको छ।

गत सोमबार प्रधानमन्त्री दाहालले भारतीय नागरिक प्रितम सिंहको पुस्तक विमोचनका क्रममा प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भन्दै अभिव्यक्ति दिएका थिए।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले बुधबार पनि प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदन अवरुद्ध गरेको थियो।

प्रकाशित: २१ असार २०८० ०७:४२ बिहीबार

राष्ट्रियसभा