राजनीति

प्रधानमन्त्रीले भारतीय नागरिक सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिनु भयो: काँग्रेस सांसद राणा

फाइल तस्बिर

सत्तारुढ नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थराज्यमन्त्री उदय शमशेर राणाले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्ति गलत रहेको टिप्पणी  गरेका छन्।  

प्रधानमन्त्री दाहालले भारतीय नागरिक सिंहले आफूलाई प्रधानमन्त्री बनाउन भारतमा गएर पटक पटक पहल गरेको भन्ने अभिव्यक्ति बोल्न मिल्ने खालको नभएको उनले प्रतिक्रिया दिएका हुन।

आज प्रधानमन्त्रीको सोही अभिव्यक्तिलाई लिएर एमाले सहितका विपक्ष दलहरूले राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध पारेका थिए। सोही सन्दर्भमा संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद राणाले प्रधानमन्त्री दाहालले सो विषयबारे संसदमा चाँडोभन्दा चाँडो स्पष्टीकरण दिनुपर्ने माग समेत गरे।

एमालेसहितका विपक्ष दलहरूले त्यसप्रति आपत्ति जनाएपछि प्रधानमन्त्री दाहालले संसदमा उभिएर त्यसबारे स्पष्ट पार्नुपर्ने उनको भनाई थियो।सांसद राणाले आफ्नो पार्टी तत्काल सरकार परिवर्तन गर्ने पक्षमा भने नरहेको स्पष्ट पारे। 

प्रकाशित: २० असार २०८० १२:५६ बुधबार

प्रधानमन्त्रीले भारतीय नागरिक सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिनु भयो: काँग्रेस सांसद राणा